शिनओकुबो नेपाली ब्यवसायी संघको आउँदो १६ मा अधिवेशन हुने

Everest Fuji News २०७५ भदौ १७ मा प्रकाशित       Published at 2018 Sep 02


U टोकियो - शिनओकुबो नेपाली ब्यवसायी संघको यहि आउँदो १६ तारिख आइतवार प्रथम अधिवेशन हुने भएको छ ।

अधिवेशनले यस क्षेत्रमा ब्यवसायरत नेपालीहरुको हितलाई केन्द्रमा राखी बिधीबिधानको निर्माण, आगामी कार्ययोजनाहरु पारित गर्नुका साथै बिधिवतरुपमा नयाँ कार्यकारी समिति चयन गर्ने भएको छ । अधिवेशन शिनओकुबोस्थित टोकियो रोधी क्लवमा हुने संयोजक बिजय थकालीले समुद्रपारिलाई जानकारी दिनुभयो ।

रेष्टुरेन्ट, हलाल फुड, रेमिट्यान्स, ट्राभल, डिजाइन एण्ड प्रिन्ट, रियलस्टेट, बुटिक, कन्सल्ट्यान्सी, मिडिया, आइटी लगायतका बिभिन्न प्रकृतिका ब्यवसायहरु गरी नेपालीहरुद्वारा सञ्चालित करिव ५ दर्जनजति ब्यवसायहरु यस क्षेत्रमा रहेका छन् ।

नेपालीहरुको बाक्लो बसोबासका साथै ब्यवसायिक घनत्व रहेको शिनओकुबो क्षेत्रमा ब्यवसाय गर्दै आईरहेका नेपाली ब्यवसायीहरुबीच मेलमिलाप, एकता, भाइचाराको अभिबृद्धि गरी भैपरी आउने समस्यालाई सामुहिक प्रयासद्वारा समाधान गर्ने र पारस्परिक ब्यवसायिक हितका लागि एकताबद्ध भएर क्रियाशील रहने उद्देश्यले गत महिनामा शिनओकुबो नेपाली ब्यवसायी संघ गठन भएको हो ।

आउँदो १६ तारिख हुने अधिवेशनको तैयारीलाई बिशेषरुपले तिब्र पारिएको र उक्त अधिवेशनमा सक्रिय सहभागिताका लागि संघका तर्फबाट उपसंयोजक पुष्करजंग थापाले समस्त ब्यवसायीहरुलाई अपिल गर्नुभएको छ ।

स्थानिय जापानी समुदाय र प्रहरी प्रशासनसंग सहकार्य गरी ब्यवसायिक सुरक्षाको प्रत्याभूति दिने, अवाञ्छित क्रियाकलापहरु हुन नदिने, अराजक तथा अप्रिय घटना नियन्त्रण गर्ने, अघोषित चन्दा आतंक तथा जबरजस्ती स्पोन्सर उठाईने प्रवृत्तिलाई निरुत्साहित गरिने, अस्वस्थ्य ब्यवसायिक प्रतिस्पर्धालाई ब्यवस्थित एवं मर्यादित तुल्याईने जस्ता मुलभुत बिषयलाई ब्यवसायी संघले प्रमुख कार्यभारकारुपमा अगाडि सार्ने भएको छ ।

शिनओकुबो नेपाली ब्यवसायी संघले स्थानीय जापानी समुदाय, स्थानिय निकाय, महानगरिय प्रहरी, अपराध अनुसन्धान ब्यूरो लगायतका सरोकारवला निकायहरुसंग नियमितरुपमा छलफल, अन्तरक्रिया र सुझाव आदानप्रदान गर्नुका साथै एक आपसमा सहकार्य गरेर अगाडि बढ्ने समझदारी गरेको छ ।***



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.