एभरेष्ट इन्टरनेशनल स्कुलको निजि भवन उद्घाटन

Everest Fuji News २०७५ भदौ ४ मा प्रकाशित       Published at 2018 Aug 20


जापान-जापानमा नेपालीहरुको सामूहिक लगानीमा संचालित एभरेष्ट इन्टरनेशनल स्कुल आफ्नै भवनमा स्थानान्तरण भएको छ। नयाँ भवनको आइतबार विधिवत रुपमा उद्घाटन गरिएको छ। जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, सुगिनामी सिटीका मेयर र्‍यो तानाका, एनआरएन एशिया प्याशिफ़िक क्षेत्रिय संयोजक किरणबिक्रम थापा, स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठ, संचालक समितिका कार्यकारी सदस्य मेघराज नेपाल लगायतले संयुक्तरुपमा रिवन काटी भवनको उद्घाटन गरे।

उद्घाटन समारोहमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले छोटो समयमै स्कुलले गरेको प्रगति र आफ्नै भवनमा सर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै सम्बन्धित सबैलाई बधाई दिईन्। नेपाली पाठ्यक्रम अनुसार खोलिएको विदेश स्थित एक मात्र यस स्कुलले नमुना स्कुलको रुपमा आफुलाई विकास गर्नुपर्नेमा जोड दिंदै राजदूत राणाले राजदूतावासको तर्फबाट निरन्तर सक्दो सहयोग गर्ने बताइन्।

सुगिनामी सिटीका मेयर र्‍यो तानाकाले सुगिनामी सिटीमा बसोबास गर्ने नेपालीहरुको संख्या गत ५ बर्षमा ५ गुणा बृद्धि भई हाल करिब २ हजार ८ सय जना पुगेको उल्लेख गर्दै यसमा एभरेष्ट स्कुलको प्रमुख भूमिका रहेको बताए। आगामी दिनमा पनि स्थानीय बासिन्दाहरुसंगको सम्बन्ध प्रगाढ बनाउँदै स्कुल अघि बढ्नेमा आफ़ु विश्वस्त रहेको उनले बताए।

स्कुलका प्रिन्सिपल प्रदिप थापाले स्कुलको गतिबिधीको बारेमा जानकारी गराएका थिए भने स्कुलका विद्यार्थीहरुले नेपाली नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा सुगिनामी सिटी काउन्सिलर फुजिओ वातानाबे, डिकेसी बैंकका उपाध्यक्ष माकिओ आकाहिरा, विथ कम्पनी लिमिटेडका प्रमुख मासुमी फुकुची, सेइवा कम्पनी लिमिटेडका प्रमुख यासुताका इइदा, ओगिकुबो चेम्बर अफ कमर्सका सेइइची जिचुकाता, एनआरएन एशिया प्यशिफिक क्षेत्रिय संयोजक किरणबिक्रम थापा लगायतले नयाँ स्कुल भवन उद्घाटनको उपलक्ष्यमा हार्दिक बधाई ज्ञापन गर्दै स्कुलको प्रगतिको कामना गरे।

स्कुलका अध्यक्ष डा. श्रेष्ठले एभरेष्ट अन्तराष्ट्रीय स्कुल विदेशमै एकमात्र नेपाली पाठ्यक्रम अनुसार पढाई हुने स्कुल भएकोले यसलाई नमुना स्कुलको रुपमा विकास गर्ने दृढता ब्यक्त गरे।

स्कूलमा हाल नर्सरीदेखि कक्षा ८ सम्मका २ सय ५ जना विद्यार्थीहरु अध्ययनरत छन्। करिब ३५ करोडमा स्कूलले नयाँ भवन खरिद गरेको बताईएको छ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.