गर्मीबाट जोगाउन जापानले दुई घन्टाले समय बढाउने तयारी गर्दै

Everest Fuji News २०७५ श्रावण २३ मा प्रकाशित       Published at 2018 Aug 08


बीबीसी । जापानमा यसपटकको गर्मीले हालसम्म १२० जनाको ज्यान लिइसकेको छ ।

यस्तोमा एकवर्षपछि यसै समय सुरु हुने २०२० टोकियो ओलम्पिकमा खेलाडीहरुलाई अत्याधिक तापक्रमबाट बचाउन जापानी सरकारले समय परिवर्तन गर्ने योजना बनाइरहेको बताएको छ । यस अन्र्तगत घडिलाई हालको भन्दा दुई घन्टाले छिटो बनाइने प्रस्ताव अघि ल्याइएको बताइएको छ । यसो गर्नाले खेलाडीहरुले बिहानको शीतलमै खेल्न पाउने विश्वास गरिएको छ ।

तर अझैपनि यो मुद्दा निश्चित भइसकेको छैन भने प्रमुख विपक्षी पार्टीले पनि सो प्रस्ताव अस्वीकार गरिरहेको छ । उता सामाजिक संजालमा पनि सर्वसाधारणले यसले काम गर्ने समयलाई लम्ब्याइदिने भन्दै विरोध जनाइरहेका छन् ।

गर्मी र ताप लहरले खेलाडीहरुको ज्यान समेत लिन सक्ने खतरा देखिएपछि यसअघि ओलम्पिक आयोजक समूहले प्रधानमन्त्री सिन्जो आबेसँगै भेट गरि यस्तो सुझाव दिएको थियो । त्यसैले दिउँसोको समयलाई कम गराउन सरकारले यस्तो उपाय अपनाउन लागेको बताइएको छ । यसका साथै सरकारले हरियाली थप गर्ने र गर्मी अवरोधक फुटपाथ पनि निर्माण गर्ने योजना बनाएको प्रमुख क्याबिनेट सचिव योसहिहिदे सुगाले बताएका हुन् । २०२० को ओलम्पिक खेल जुलाई र अगष्टका बीच सुरु हुने तय भइसकेको छ जसलाई सबैभन्दा गर्मी हुने समय मानिन्छ ।

तर अर्कोतर्फ टोकियो भ्रमणमा आउने विदेशीहरुका लागि भने यो प्रक्रिया निकै अनौठो हुनेछ र कति पर्यटकका लागि समस्या समेत बन्न सक्ने बताइएको हो । कुनैपनि व्यक्ति बिहान ४ बजे उठ्दा समेत बाहिर घाम लागिरहेको हुने हुँदा जोकोही पनि आश्चर्यमा पर्नेछ ।

अहिलेको अवस्थामा बिहानको १० बजेदेखि नै त्यहाँको तापक्रम ३० डिग्री नाग्न सुरु गर्ने गरेको छ । यसैकारण जापानी सरकारले यो उपायको परीक्षण गर्न अर्को वर्ष जुन र अगस्टका बीच दुई घण्टाले समय बढाउने बताएको हो । जसपछि ओलम्पिकका लागि पनि उपयुक्त निर्णय लिन सहज हुने बताइएको छ ।

तर यसले साँच्चिकै सर्वसाधारणमा भने गम्भीर प्रभाव पार्ने हुँदा धेरै विचार पुर्याएर मात्र निर्णय गर्न मिल्ने बताइएको हो । किनकी जापानले यसअघिपनि सो तरिका अपनाइसकेको छ । त्यसबेला कामदारहरुले अबेरसम्म घाम लागिरहँदा कम्पनीले लामो समय काम लगाएर राख्ने गरेको गुनासो गरेका थिए ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.