परराष्ट्रलाई थाहै नदिई मेयर विद्यासुन्दर जापानतिर

Everest Fuji News २०७५ श्रावण १६ मा प्रकाशित       Published at 2018 Aug 01


काठमाडौं: निर्वाचित भएदेखि नै कार्यक्षमतालाई लिएर आलोचित बन्दै आएका काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य परराष्ट्र मन्त्रालयलाई थाहै नदिइ जापान उडेका छन् ।

परराष्ट्रलाई थाहै नदिई शाक्य मंगलबार सुटुक्क जापानतिर लागेका हुन् । सरकारले जनप्रतिनिधिहरुले विदेश जाँदा अनिवार्य परराष्ट्रको अनुमति लिनुपर्ने कार्यविधि बनाएको छ ।

परराष्ट्र मन्त्रालय सहसचिव तथा प्रवक्ता भरतराज पौडेलले मेयर शाक्य जापान गएकोबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । ‘यो प्रधानमन्त्रीको कार्यालयको सरोकारको विषय हो', उनले भने, 'हामीलाई शाक्य जापान गएकोबारेमा कुनै जानकारी छैन ।’

उता प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् सहसचिव विनोद कुँवरले शाक्य बिनाअनुमति जापान उडेकोबारेमा बुझ्नु पर्ने बताए । ‘आज त योबारेमा बुझ्न सम्भव छैन, अब भोलि बुझौँला,’ प्रवक्ता कुबँरले भने ।

महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले शाक्य मंगलबार जापान गएको पुष्टि गरेका छन् । यसअघि ललितपुरका मेयर चिरिबाबु महर्जनसमेत परराष्ट्रको स्वीकृतिबिना विदेश गएका थिए ।

स्थानीय तहका जनप्रतिनिधिहरुले परराष्ट्रको स्वीकृत लिएर मात्रै विदेश जानुपर्ने कार्यविधि सरकारले बनाएको छ । केपी ओली नेतृत्वको सरकारले सुरुबाटै कर्मचारी र जनप्रतिनिधिलाई आफूखुसी विदेश जान रोक लगाइसकेको छ।

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पनि सरकारले विदेश जान अनुमति दिएको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत बिनाकारण विदेश सयरलाई रोक्न निर्देशन दिइसकेका छन् । मन्त्री, सांसद र स्थानीय तहका पदाधिकारीसम्मलाई परराष्ट्रको अनुमति लिएर मात्रै विदेश भ्रमणमा जान उनले निर्देशन दिए थिए । (annapurna post)



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.