जापान ।
विश्वको सबैभन्दा महँगो शहर भनिएको जापानको टोकियोमा पहिलो पटक हुन गईरहेको 'सुर्य ईन्टरनेशनल अवार्ड–२०१८' को फारम खुल्ला गरिएको छ । आयोजकले सो सम्बन्धि एक विज्ञप्ती जारी गरेको छ ।

आगामी सेप्टेम्वरको १६ तारिक अर्थात नेपाली मिती २०७५ भाद्र ३१ गते सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ हुने जनाएको छ । उक्त अवार्डमा फिल्म र संगीत तर्फबाट ६,६ गरि १२ विधा रहने आयोजकले जनाएको छ ।
जसमा उत्कृष्ट फिल्म, निर्देशक, नायक, नायिका, सह अभिनेता/अभिनेत्री गरि ६ विधा र संगीत तर्फ लोक, पप र आधुनिक गायक गायिका गरि ६ विधा राखिएको छ । विश्वभरीबाट अनलाईन तथा सामाजिक सञ्जाल मार्फत भोटिङ हुने र भोटिङबाट नै पपुलर अवार्ड वितरण गर्ने आयोजक संस्थाका प्रबन्ध निर्देशक बासुदेव लामिछानेले बताएका छन् ।

नेपाली अवार्डको गरिमा र अवार्ड समारोहको वारेमा बेला बखत हुने विवाद तथा चर्चालाई अन्त्य गर्न र यस्ता अवार्डहरुबाट फरक रहन सुर्य ईन्टरनेशनल अवार्ड २०१८ लाई भोटिङ प्रक्रियामा संचालन गरिने विज्ञप्तीमा भनिएको छ ।
यहि जेष्ठ मसान्त सम्म अवार्डको लागि फरम भर्न पाउने विज्ञप्तीमा उल्लेख छ । अवार्डको लागि हाल जापान र नेपालमा भव्य तयारी भईरहेको पनि कर्पोरेसनले बताएको छ । यस्तै अवार्ड समारोहमा ३ दर्जन बढि कलाकर्मीहरु र केही पत्रकारहरु जापानको एउटै मञ्चमा देखिने बताएका छन् ।
