काठमाडौं । पूर्व वाणिज्य मन्त्री एवम् नेपाली काँग्रेसका नेता रोमी गौचन थकालीले देश, जनता र जिल्लाको सेवा गर्न चुनावी हारजितले असर नगर्ने बताउनुभएको छ । आफू सरकारमा रहदा होस् या नरहदा होस् सधै जनताको सेवक भएको भन्दै उहाँले चुनावमा हार व्यहोरेपनि जनता र जिल्लाको काममा सक्रिय रहेको बताउनुभयो ।

उहाँले जिल्लाको विकासकै लागि हालै नेपालस्थित जापानी राजदूत मासासी ओगावासँग भेट गरि जिल्लामा विकास निर्माणको काममा सहयोग गर्न जापान सरकारलाई समेत आब्हान गर्नुभएको छ । पूर्वमन्त्री थकालीको घरमा भएको भेटमा राजदूत ओगावाले मार्फा जनवाल माविको तटबन्धन, टुकुचे र कोवाङमा समेत विकासका लागि सहयोग गर्ने बताउनु भयो । सो भेटमा जापानी दूतावासका विभिन्न विभागका विभागीय प्रमुखहरु समेत सहभागी थिए ।
मंसिर १० मा भएको प्रतिनिधी सभा निर्वाचनमा हार व्यहोरे पनि आफ्नो कार्यकालमा शुरु भएको र शुरु हुन लागेको योजनामा पनि आफूले सहयोग गर्ने बताउनुभयो । अहिले वेनी जोमसोम सडक कालेपत्रे गर्ने काम भइरहेको छ भने जोमसोम कोरल्ला ग्रावेलिङको काम सकिएर कालोपत्रे गराउँन सडक विभाग र मन्त्रालयको ध्यानाकर्षण गराएको पूर्व मन्त्री थकालीले बताउनुभयो ।
त्यस्तै थकालीकै कार्यकालमा पहिलो प्राथमिकतामा परेको कोरल्ला नाकाको संयुक्त चेकपोष्ट, उपल्लो मुस्ताङमा शुरु भएको ग्रामीण विद्युतीकरण लगायतको कामलाई तदारुकताका साथ अगाडि बढाउन पनि काम गरिरहेको बताउनुभयो । एक्लेभट्टी पाङलिङमा बनिरहेको पक्की पुल, पाङता खोलाको पुल, मुस्ताङ गेटको छुसाङ चैले पक्की पुलको निर्माण कार्यलाई तीव्रता दिइनु पर्ने बताउँदै उहाँले स्याङ ढुक्वा, छैरो चिमाङ, ढि याराधारा, लेते छ्यो निर्माणाधिन पक्की पुल बनाउँनका लागि पहल गरिरहेका बताउँनुभयो ।