Everest Fuji News२०७४ कार्तिक १६ मा प्रकाशितPublished at 2017 Nov 02
काठमाडौं / रास– नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारी तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकास्थित नेपालका प्रतिनिधिबीच बुधबार महासंघ सचिवालयमा छलफल भएको छ ।
छलफलका क्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष लक्ष्मण राना, प्रवक्ता विष्णु बुढाथोकीलगायत अन्य पदाधिकारीले साना प्याकेजमा आधारित बोलपत्र प्रकाश नगर्न जाइका प्रतिनिधिको ध्यानाकर्षण गराएका थिए । बोलपत्रको प्याकेज बनाउँदा कम्तीमा १० देखि २० करोड रुपैयाँ लगानीसम्मको आयोजना एवं परियोजना बनाउन जाइका प्रतिनिधिमण्डलसमक्ष आग्रह गरिएको थियो ।
पुनर्निर्माण कार्यमा स्थानीय स्रोतसाधनलाई प्राथाकितामा राखेर बोलपत्र आह्वान गर्न समेत महासंघका पदाधिकारीले सुझाव दिएका थिए । व्यवसायीहरूको मागबारे जानकारी लिएपछि जाइका प्रतिनिधिमण्डलले महासंघको सुझावलाई आफूहरूले सकारात्मक रूपमा लिएको बताए । सो भेटवार्तामा महासंघका पूर्वअध्यक्ष सुकुन्तलाल हिराचन लगायत अन्य व्यवसायी सहभागी थिए ।