काठमाडौं: जापानको साताव्यापी भ्रमणमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर र जापानका संसदीय उपमन्त्री तथा भूमी, पूर्वाधार, यातायात र पर्यटन मन्त्री कात्सुनोरी ताकाहान्सीबीच भेटवार्ता भएको छ।

सोमबार भएको भेटमा दुइपक्षीय हीतका बिषयमा छलफल भएको बताइएको छ। नेपाली प्रतिनिधि मण्डलको प्रतिनिधित्व गर्दै मन्त्री बलायरले जापानले नेपालको भौतिक पूर्वाधारको क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै आउँदा दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरे।आजको अन्नपूर्णपोष्टमा खबर छ ।
नेपाल विकासको गतिमा अघि बढिरहेको बताउँदै मन्त्री बलायरले सडक सुधार र विकासका लागि सुरुङ्ग मार्ग अत्यन्त प्रभावकारी हुनेतर्फ जोड दिएको मन्त्रीका प्रेस संयोजक रमेश जोशीले बताए। नेपालको भूबनोट अनुसार पनि सुरुङ्ग मार्ग अत्यन्त प्रभावकारी भएकोले सुरुङ्ग मार्गको निर्माण आफ्नो उच्च प्राथमिकता रहेको मन्त्री बलायरले बताएका छन्।
प्रत्युत्तरमा जापानी उपमन्त्री कात्सुनोरी ताकाहान्सीले नेपाल जापानको असल मित्रराष्ट्र भएको बताउँदै नेपालको विकासका लागि सदैव सकारात्मक रहेकोमा जोड दिए। उपमन्त्री ताकाहान्सीले नेपालमा सुरुङ्ग मार्ग निर्माण जापान सरकारको पहिलो प्राथमिकता रहेकोसमेत बताए। जापान भ्रमणमा मन्त्री बलायरका साथ मन्त्रालयका सचिव देवेन्द्र कार्की, सहसचिव, सडक बिभागका महानिर्देशक लगायतका सदस्यहरु रहेका छन्।
साताव्यापी जापान भ्रमणमा मन्त्री बलायरले त्यहाँको टनेल(सुरुङ्ग) मार्गका बारेमा अध्ययन अबलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ। नेपालमा सम्भावित सुरुङ्ग मार्गका लागि यो भ्रमण अत्यन्तै फलदायी हुने बिश्वास मन्त्रालयको छ। मन्त्री बलायर बुधवार स्वदेश फर्किने कार्यक्रम रहेको प्रेस सयोजक जोशीले जानकारी दिए।