एनआरएनको चुनावमा दुई धनाड्यको लडाईँ, पैसाको खोलो बगाइँदै

Everest Fuji News २०७४ आश्विन २८ मा प्रकाशित       Published at 2017 Oct 14


काठमाडौं, २८ असोज- कम्तीमा १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवारको खर्च यसपालि निकै बढी हुने आकलन गरिएको छ। दुई धनाढ्य गैरआवासीय नेपाली जमुना गुरुङ र भवन भट्ट अध्यक्षका प्रतिस्पर्धी भएकाले यसपालि खर्च अकासिने भएको हो। चुनाव दुई उम्मेदवारको मात्र नभई तिनको समर्थनमा रहेका पूर्वअध्यक्षहरूको जुँगाको लडाइ ठानिएकाले पैसाको खोला बगिरहेको सहभागी बताउँछन्, अन्नपूर्ण पोस्टमा खबर छ । गुरुङ एनआरएनएका अध्यक्ष शेष घलेकी पत्नी हुन्। अस्ट्रेलियाका धनाढ्यको सूचीमा शेष १०१ औं स्थानमा र पत्नी जमुना त्यसपछिको नम्बरमा छिन्। जापानमा सफल नेपाली व्यवसायी भट्टको त्यहाँ २९० वटा स्तरीय रेस्टुरेन्टको चेन छ। उनको वार्षिक कारोबार ३० अर्ब रुपैयाँ बराबर छ। पत्नी चुनावी मैदानमा रहेकाले घलेका लागि चुनाव प्रतिष्ठाको विषय हुने नै भयो, भट्टको समर्थनमा उभिएका संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्वअध्यक्ष जिवा लामिछानेको पनि जुँगाको लडाइ भएको छ। ‘चुनाव जमुना विरुद्ध भवनभन्दा पनि महतो-लामिछाने विरुद्ध घलेजस्तो देखिँदै छ’, सम्मेलनका लागि बेलायतबाट आएका शरण केसी टिप्पणी गर्छन्। देशमा हुने अन्य चुनावजस्तै भोजभतेर, भोट किन्न आदिमा हुने उम्मेदवारको खर्च एनआरएनएको चुनावमा पनि हुन्छ नै, मतदाताको रजिस्ट्रेसन शुल्क र मतदातालाई टिकट काटेर विदेशबाट ल्याउनसम्म खर्च गर्नपर्ने अवस्था भएकाले एनआरएनए चुनाव उम्मेदवारका लागि खर्चिलो हुँदै गएको हो। रजिस्ट्रेसनका लागि उम्मेदवारको मुख ताक्ने मतदाता टन्नै छन्। यसपालि रजिस्ट्रेसन शुल्क यसअघिको भन्दा दोब्बर बनाएर खाडी, अफ्रिका, मलेसिया, दक्षिण कोरियाका लागि प्रतिसहभागी एक सय डलर र यसबाहेकका देशबाट आउनेका लागि दुई सय डलर पारिएको छ। खाडी मुलुकबाट आउने सहभागीमात्र हैन, युरोपबाट आउने पनि कतिपय सहभागीले रजिस्ट्रेसन शुल्क उम्मेदवारलाई तिराउँछन्। एनआरएनएमा पहिलो हजार जनासम्म सदस्य भए प्रति १० जना बराबर १ प्रतिनिधि (मतदाता) हुन्छन्। त्योभन्दा बढी प्रत्येक हजार मतदातामा क्रमशः प्रतिनिधि संख्याका अनुपात घट्दै जान्छ। शनिवार, आश्विन २८, २०७४ मा प्रकाशित


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.