जापानमा बुद्धको विशाल मूर्ति कुँद्दै नेपाली कलाकार

Everest Fuji News २०७४ आश्विन ११ मा प्रकाशित       Published at 2017 Sep 27


आश्विन ११, २०७४-उनको पुख्र्यौली पेसा मूर्तिकला हो । सानैमा मूर्तिकला सिके । आफूले सिकेको कला यतिबेला उनी जापानमा उपयोग गरिरहेका छन् । ३४ वर्षीय रामचन्द्र पण्डितले त्यहाँ विश्वकै ठूलो हुने भनेर दाबी गरिएको ६० फिट अग्लो बुद्ध मूर्ति कुँदिरहेका छन् । गाउँघरमा रहँदा पनि देवीदेवताका मूर्ति बनाएर बिक्री गरी गुजारा गर्नु रामचन्द्रको दैनिकी थियो । व्यावसायिक रूपमै उदयपुर सदरमुकाम गाईघाट बजारमा मूर्ति बनाउँदै आएका त्रियुगा नगरपालिका ६ जलजलेका पण्डित अहिंसावादी दर्शनबाट प्रभावित छन् । ‘मूर्तिमा जीवन हुनुपर्छ,’ उनले भने । उनलाई गतवर्ष जापान गएर बुद्धको विशाल मूर्ति बनाउने प्रस्ताव आयो । ‘आफ्नो देशको नाम रहने अनि कला पनि खारिने भएकाले जाने निर्णय गरेको हुँ,’ उनले भने । हाल उनकै नेतृत्वमा केही सहयोगी कलाकारका साथ जापानको कुमामोतोमा बुद्धको ढुंगेमूर्ति धमाधम निर्माण भइरहेको छ । त्यहाँको एउटा ढुंगे पहरोमा ६० फिटको बुद्ध मूर्तिसहित अन्य ४० फिट र ३० फिटका ६ वटा मूर्तिहरू उनीसहित चार नेपाली मूर्तिकारहरूले कुँदिरहेका छन् । मूर्ति बनाइसक्न पाँच वर्ष लाग्ने उनले बताए ।   बुवा टुनाई र आमा दुर्गादेवी पण्डितका जेठो छोराका रूपमा २०४० फागुन ७ गते रामचन्द्रको जन्म भएको हो । पुख्र्यौली पेसा पनि मूर्तिकला नै भएकाले रामचन्द्रले सानै उमेरदेखि नै मूर्तिकलामा रुचि राख्थे । आमाबाबु ३ दाजुभाइ र ५ दिदीबहिनीसहितको उनको परिवारको पुख्र्यौली पेसा भने माटाका भाँडावर्तन र परम्परागत देवीदेवताका माटाका मूर्तिहरू निर्माण गर्नु हो । न्यून आर्थिक अवस्था भएको उनको आमाबाबुको दैनिकी माटाका भाँडावर्तनबाहेक विभिन्न चाडपर्व र पूजा अवसरमा माटाका मूर्तिहरू बनाएर परिवार धान्ने गर्थे । सप्तरीको घरजग्गा महेन्द्र राजमार्गले उठाएपछि उनको परिवार उदयपुरमा बसाइँ सर्‍यो । उदयपुर आउँदा रामचन्द्र चार वर्षका थिए । ‘सानै उमेरदेखि हामीले माटाका भाँडावर्तन र देवीदेवताका मूर्तिहरू नियालेर हेरिरहन्थ्यो,’ बुवा टुनाईले भने, ‘मूर्तिकलामा उसको विशेष रुचि थियो, हामीलाई सघाउँथ्यो ।’ उदयपुर बसाइँ सरेपछि जनता मावि, देउरीमा अध्ययन सुरु गरेका रामचन्द्रले पुस्तकभन्दा पनि धेरै रुचि र समय सिर्जनामा लगाउन थालेको उनका शिक्षकहरूले बताए । ‘उनको कलाप्रतिको लगाव धेरै थियो,’ प्रधानाध्यापक वासुदेव चौधरीले भने, ‘उनीभित्र मूर्तिकलाप्रतिको गहिरो रुचि पैदा भइसकेको थियो ।’ ‘आफनो परिवारले बनाएका माटाका मूर्तिहरूलाई धुमधाम पूजा भइसकेपछि खोलामा सेलाएको देख्दा मन खिन्न भएर आउँथ्यो,’ रामचन्द्रले भने, ‘लामो समयसम्म टिकिरहने मूर्ति बनाउने अठोट गर्न थाल्थेँ ।’ जिल्लास्तरीय हस्तकला प्रतियोगितामा प्रथम हुने गरेका उनले मूर्तिकलाको थप ज्ञान हासिल गर्न काठमाडौं र भारतका दिल्ली, कोलकाता, सिलिगुडीसम्म पुगेर प्रशिक्षण लिए । यतै हुँदा उदयपुर सेरामिक्स नामक लघु उद्योग सञ्चालन गरी त्यसैमार्फत माटाका भाँडावर्तन, ढुंगा, ढलोट सिमेंट र फाइबरका मूर्तिहरू बनाए । सुरुमा माटो र ढुंगाको मात्र बनाएका उनी अचेल सिमेन्ट, फाइबर र ढलोटका मूर्ति पनि बनाउँछन् । उनले काठमाडौंको बीपी संग्राहलयका लागि बीपी कोइराला र गणेशमान सिंहको पूर्ण कदका सालिक बनाएका छन् । यसैगरी, भुटानी राजाका सालिक बनाएर भुटानसम्म आफ्नो कलाको परिचय दिएका छन् । प्रकाशित: आश्विन ११, २०७४ (ईकान्तिपुर )  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.