- २४ असार – टिरेसा मे बेलायतको नयाँ प्रधानमन्त्री हुने सम्भावना बढेको छ। भदौ २४ गते (९ सेप्टेम्बर) कन्जरभेटिव पार्टीको नेतृत्वका लागि हुने पार्टीगत निर्णायक चुनावमा विजयी भएमा ५९ वर्षीय मे डेविड क्यामरुनको स्थानमा प्रधानमन्त्री नियुक्त हुनेछिन्। उनी मार्गरेट थ्याचरपछि त्यस पदमा पुग्ने दोस्री महिला हुनेछिन् । मे विगत छ वर्षदेखि बेलायतको गृहमन्त्री छिन्। कन्जरभेटिव पार्टी नेतृत्वका लागि विहिवार भएको चुनावमा टिरेसा मे पहिलो र ५३ वर्षीया एन्ड्रीया लिड्सम र दोस्रो उम्मेदवार भएकी थिइन् । निर्णायक चरणको चुनाव हुँदा दुइमध्ये जो विजयी भएपनि बेलायतले महिला प्रधानमन्त्री पाउने कुरा सुनिश्चित भएको छ। बेलायतले युरोपेली संघ छोड्ने र नछोड्ने विषयमा हालै भएको जनमतसंग्रहमा ५२ प्रतिशत मतदाता छोड्ने पक्षमा गएपछि डेविड क्यामरुनले प्रधानमन्त्री पद त्याग गर्ने घोषणा गरेका थिए । सार्वजनिक जीवनमा लिड्समभन्दा अनुभवी टिरेसा मे पहिला बैंकिंग क्षेत्रमा काम गर्थिन् र, उनको ३६ वर्षको अटुट वैवाहिक जीवनलाई स्थिरताको सूचक मानिएको छ।
- साभार: लोकान्तर