बीबीसी/
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको युक्रेनसँगको युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही शर्तसहित सहमति जनाउनु भएको बीबीसीले जनाएको छ ।
हिजो अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीच भएको टेलिफोन वार्तामा सो सहमती जनाएको उल्लेख गरिएको छ । यसअघि साउदी अरेबियामा युक्रेनसँग ट्रम्पको टोलीले राखेको केही महिनाको युद्धविरामको प्रस्तावलाई रुसले विभिन्न शर्त राखेर अस्वीकार गरेको थियो । तर पुटिनले ट्रम्पसँगको टेलिफोन वार्तामा आफ्ना केही शर्त पुरा भएमा युद्धविरामको प्रस्ताव स्वीकार गर्ने बताउनु भएको बीबीसीले जनाएको छ । पुटिनले युक्रेनलाई अमेरिकाले गरिरहेको सैन्य सहयोग र गुप्तचर सहकार्य नराकेसम्म युद्धविरामको विषय अघि नबढ्ने बताउनु भएको समेत जनाएको छ । गएको हप्ता अमेरिकी र युक्रेनी अधिकारीबीच भएको भेटमा अमेरिकी प्रतिनिधि मण्डलले युक्रेनलाई राखेको ३० दिने युद्धविरामको प्रस्ताव युक्रेनले स्वीकार गरेपछि रुससँग ट्रम्प आफैले वार्ता अघि बढाउनु भएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुरूमा ऊर्जा केन्द्र र भौतिक संरचनामा युद्धविराम गर्दै थप युद्धविरामको विषयमा अघि बढ्ने कुरामा सकारात्मक हुनु भएको समेत उल्लेख गरिएको छ । रुसले भने यस विषयमा थुप्रै बुँदामा छलफल आवश्यक रहेको तर मूल विषय युक्रेनलाई गरिएको सहयोगमा रोक लगाउनै पर्ने अडानमा रहेको समेत जनाएको छ ।।