लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको नेपालले निन्दा गरेको छ ।
परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ । संयुक्त राष्ट्र संघको अन्तरिम बलका शान्ति सैनिकमाथि हालै भएको आक्रमणको संयुक्त राष्ट्र संघले समेत कडा निन्दा गरेको छ । संयुक्त राष्ट्र संघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना गत आइतबार जबर्जस्ती प्रवेश गरेका थिए । यस घटनाले शान्ति सेना र इजरायली सेनाबीच तनाव बढेको थिया भने त्यसको भोलिपल्ट इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिकसमेत घाइते भएका थिए । लेबनानमा नेपाली सेना पनि संयुक्त राष्ट्र संघको शान्ति सेनाको रुपमा खटिँदै आएका छन् । संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३३ देशले हिजो संयुक्त विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेका छन् ।।