एएफपी/
लेबनानमा हिज्बुल्लाह बिरुद्धको आक्रमण थप तीब्र पारेपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ ।
जापानले आफ्ना नागरिकलाई लेबनानबाट निकाल्न सैन्य उडानको तयारी गरेको छ । रक्षा मन्त्रालयले जापानी नागरिकलाई प्रभावित क्षेत्रबाट बाहिर निकाल्न आवश्यक भएमा वायु सेनाका विमानलाई जोर्डन र ग्रीस जानका लागि तयार रहन आदेश दिइएको समाचार संस्था एएफपीले जनाएको छ । जापानले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । इजरायलको सेनाले लेबनानको राजधानी बेरुतका भवन लक्षित आक्रमण गरिरहेको छ । ती भवनमुनि हिज्बुल्लाहले हतियार भण्डार गरिरहेको उसको दाबी छ । लेबनानको राजधानीको दक्षिणी क्षेत्रमा रहेका भवन खाली गर्न मानिसलाई आग्रहपछि आक्रमण तीब्र भएको बीबीसीको खबरमा उल्लेख छ । इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशको सेनालाई हिज्बुल्लाहविरुद्ध पूर्ण शक्ति लगाएर लड्न निर्देशन दिनुभएको छ । अमेरिका र अन्य साझेदार देशबाट युद्धविरामको लागि आह्वान भए पनि त्यसलाई अस्विकार गरी नेतन्याहूको पछिल्लो निर्देशन आएको हो । यसअघि अमेरिका, बेलायत र युरोपेली संघ ईयूसहितका १२ देशले तीन हप्ता लामो युद्ध विरामको प्रस्ताव गरेका थिए ।।