काठमाडौं- स्वास्थ्य खबरपत्रिकाले प्रदान गर्दै आएको हेल्थ अवार्ड २०७४ बाट चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, स्ययंसेविका, अस्पताल, सामाजिक संस्था र स्वस्थ ज्येष्ठ नागरिक सम्मानित भएका छन् ।
यस वर्ष उत्कृष्ट डाक्टर मुगु जिल्ला अस्पतालमा कार्यरत डा जितेन्द्र कँडेल र उत्कृष्ट नर्स बाग्लुग जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत हरिकाशी पालिखे भए । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्डबाट आँखा उपचारका क्षेत्रमा योगदान पुर्याएवाफत डा रााप्रसाद पोखरेललाई प्रदान गरियो ।
सुदूरपश्चिममा पुगेर स्वास्थ्य क्षेत्रमा योगदान दिएका जनस्वास्थ्य अधिकृत परशुराम श्रेष्ठ उत्कृष्ठ जनस्वास्थ्य अधिकृत ठहरिए भने भरतपुर अस्पताल उत्कृष्ट अस्पताल बन्यो ।
सिरहामा कार्यरत सिअहेव गंगाराम साह उत्कृष्ट स्वास्थ्यकर्मी, राष्टिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन- कोशिश उत्कृष्ट सामाजिक संस्था, भगवानलाई भेट्नुअघि बिरामीलाई भेट्ने स्वयंसेविका उर्मिला खत्वे उत्कृष्ट स्वयंसेविका ठहरिइन् ।
यस वर्षदेखि आरम्भ गरिएको स्वस्थ नागरिक अवार्ड धनगढीका ९२ वर्षे बद्रीनाथ भण्डारीलाई दिइएको छ ।
अवार्ड अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले संयुक्त रुपमा वितरण गरेका छन् ।
यही अवसरमा हेल्प पब्लिकेशन प्रालिको नयाँ अनलाइन नेपाल लाइभ डटकमको पनि शुभारम्भ गरिएको छ ।