फेवातालका माछा–आश्रित व्यक्तिमा भेटियो पारो

Everest Fuji News २०७४ जेठ २४ मा प्रकाशित       Published at 2017 Jun 07


पोखराको फेवातालका माछा र यसमा आश्रित बहुसंख्यक माझी समुदायको शरीरमा हानिकारक मात्रामा पारो (मर्करी) पाइएको छ । जर्नल अफ इन्भाइरामेन्टल म्यानेजमेन्टमा प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार १५ जना माझीमध्ये १३ जनाको शरीरमा ०.५८ पार्ट पर मिलियन (पीपीएम) भन्दा बढी पारो पाइएको हो । यीमध्ये आठ जनामा त १.७२ पीपीएमसम्म पारो पाइएको छ । अध्ययन २५ देखि ६२ वर्ष उमेरका व्यक्तिमाथि गरिएको थियो । जनस्वास्थ्य तथा वातावरण केन्द्र र इन्टरनेसनल पप्स इलिमिनेसन नेटवर्क (आई टेन) को सहकार्यमा नेपाल, भारत, बंगलादेशलगायत १५ राष्ट्रका १७ ठाउँमा उक्त अध्ययन गरिएको थियो । पारो मानव शरीरलाई नचाहिने वस्तु हो । यसैले यसको कुनै सुरक्षित स्तर हुँदैन । तालमा सहरी फोहर, अस्पतालजन्य फोहोर, ढल, पारो आधारित कृषि मल र चिकित्सा सामग्रीको माध्यमले पारो पुगेको अध्ययनमा जनाइएको छ । तालमा भएका स–साना एक कोषीय जीव साना माछा हुँदै ठूला माछामा खाद्यचक्रका माध्यमले पारो पुगेर अन्तत: माछा खाने मानिसको शरीरमा समेत पुगेको हो । प्रदूषणका रूपमा फेवातालमा पुगेको पारो मानिस, जीवजन्तुको खाद्यचक्रमा प्रवेश गरेर जैविक रूपमा सञ्चित र विस्तारित भएको हो । पारो वातावरणमा आएपछि नष्ट हुँदैन, बरु एक स्वरूपबाट अर्को स्वरूपमा झन् घातक रूपमा परिवर्तन हुन्छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहका अनुसार पारोको सम्पर्कमा रहेका व्यक्ति, बालबालिका र गर्भवतीका लागि यो बढी खतरनाक हुन सक्छ । मिथाइल मर्करी (पारो) गर्भवती र बच्चाहरूका लागि विषसमान हुने चिकित्सक बताउँछन् । यसले विकृत अंग, सुस्त मनस्थिति र मृतशिशुसमेत जन्म हुने सम्भावना बढाउँछ । पारोले प्रजनन, स्नायु, श्वासप्रश्वास प्रणाली र मृगौला लगायतमा नराम्रो प्रभाव पार्छ । यति मात्र नभई पारोले मानिसको बौद्घिक विकासमा अवरोध ल्याउनुका साथै गर्भमा रहेको शिशुको विकासलाई समेत प्रभावित पार्ने गरेको छ । माछाको माध्यमले शरीरमा प्रवेश गरेको पारो विस्तारै जीउमा थुप्रिने र पछि घातक प्रभाव उत्पन्न गरेर खतरनाक रोग र समस्याहरूलाई निम्त्याउने चिकित्सकहरू बताउँछन् ।      


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.