काठमाडौं । सरकारले बुधबार र बिहीबार देशभरका छ महिनादेखि पाँच वर्षमुनिका करिब दुई लाख २८ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ। बाल स्वास्थ्य महाशाखाअन्तर्गतको पोषण शाखा प्रमुख राजकुमार पोखरेलले भिटामिन ‘ए’ सँगै एक वर्षदेखि पाँच वर्षमुनिका करिब २२ लाख ९८ हजार बालबालिकालाई जुकाको औषधि ‘अल्वेन्डाजोल’ पनि खुवाइने जानकारी दिए।
उनले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने हुनाले सबैलाई आफ्नो पायक पर्ने खोप केन्द्रमा गई आफ्ना बालबालिकालाई लगेर औषधि खुवाउन आग्रह गरे।
देशभरका ५५ हजार महिला स्वास्थ्य स्वयम्सेविका र अन्य स्वयम्सेवकलाई भिटाभिन ‘ए’ कार्यक्रमका लागि परिचालन गरिएको छ।
वर्षको दुई पटक वैशाख र कात्तिकमा सञ्चालन हुने भिटामिन ‘ए’ कार्यक्रमका लागि झन्डै १० करोड रुपैयाँ खर्च हुने बताइएको छ। रासस