काठमाडौंमा ‘कडा खालको’ स्वाइन फ्लू भेटियो, सचेत रहन चिकित्सकको सल्लाह
Everest Fuji News२०७४ बैशाख ४ मा प्रकाशितPublished at 2017 Apr 17
काठमाडौं । काठमाडौंमा देखिएको स्वाइन फ्लू (एच वान एन वान् भाइरस) नयाँ प्रकारको हुन सक्ने भन्दै चिकित्सकहरुले सचेतता अपनाउन आग्रह गरेका छन् ।
काठमाडौंमा स्वाइन फ्लू भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले पुष्टि गरेको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले काठमाडौंमा देखिएको स्वाइन फ्लू नयाँ भएकोले विशेष सर्तकता अपनाउन आग्रह गरे ।
‘पहिले पहिले नेपालमा देखा परेको स्वाइन फ्लू क्यालिफोर्निया राज्यबाट आएको हुदाँ त्यले त्यति हानी पुर्याएको थिएन’ उनले भने, ‘तर, अहिले अमेरिका, युरोप हुँदै भारतमा समेत देखा परेको मिचिगन स्ट्रेन नामक स्वाइन फ्लू नेपालमा समेत आएको हुन सक्ने हुदाँ यसबारे विशेष ध्यान दिन आवश्यक छ ।’
करिब तीन हप्ता अघिमात्र काठमाडौंको एक निजी अस्पतालमा स्वाइन फ्लूकै कारण एक व्यक्तिको मृत्यु भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै भर्ना भएका ३० वर्षीय पुुरुषमा पनि स्वाइनफ्लू संक्रमण भएको पुष्टि भएको छ ।
ज्वरोसहित छाती दुखेर अस्पताल भर्ना भएका उनमा स्वाइन फ्लु देखिएको अस्पतालले जनाएको छ । गत फाल्गुनको पहिलो साता ज्वरो आएर अस्पताल पुगेका ४० वर्षीय एक पुरुषमा पनि स्वाइन फ्लुको भाइरस भेटिएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालयको केन्दि्रय प्रयोगशालामा रगत परीक्षण गराउनेमध्य करिब २० प्रतिशतमा स्वाइन फ्लूको भाइरसको प्रारम्भिक लक्षण देखा परेको छ ।
के-के हुन् लक्षण ?
चिकित्सकहरुका अनुसार लगातार खोकी लाग्ने, घाँटी खसखसाउने, १० दिनसम्म पनि कडा ज्वरो आउने स्वाइन फ्लूको लक्षण हुनसक्छ । यस्तै बालबालिकामा ज्वरोसँगै वान्ता हुने पखाला लाग्ने भएमा तत्कालै जाँच गराउनु पर्छ ।
स्वाइन फ्लू सरुवा रोग भएको हुदाँ सार्वजनिक ठाँउमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्यूँ गर्दा रुमालको प्रयोग गर्ने, साबुन पानीले राम्ररी हातमुख धुने, झोलिलो खानेकुरा सेवन गर्ने र स्वाइन फुलुको शंका लागेमा बेलैमा स्वास्थ्य परिक्षण गराएर पनि यो रोग लाग्नबाट बच्न सकिन्छ ।