सातायता प्रकोपका रूपमा फैलिँदै गएको आँखा पाक्ने रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको छ ।
यसबाट सबै उमेर समूहका संक्रमित भइरहेका छन् । आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ ।
‘जुन गतिमा आई फ्लुको संक्रमण बढिरहेको छ, यो खतराको संकेत हो,’ कीर्तिपुर आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. एरिक वैद्य भन्छन्, ‘एक व्यक्तिबाट अर्कोमा फैलिने यो संक्रमणले महामारीको रूप लिन सक्ने जोखिम देखिएको छ ।’ सामान्यतया मनसुनको समयमा बढी फैलने यो संक्रमण यस पटक भने विगतको दाँजोमा तीव्र रूपमा देशभर फैलिरहेको तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ प्राडा रोहित सैजुले बताए । यस पटकको संक्रमण भारत र नेपालको सीमावर्ती क्षेत्रबाट सुरु भएको हो ।
मधेश प्रदेशमा यो संक्रमण अत्यधिक वृद्घि भइरहेको औंल्याउँदै जानकी आँखा अस्पताल, जनकपुरका नेत्र रोग विशेषज्ञ डा. अमित यादव बहिरंग विभागमा हाल दिनहुँ हजारको संख्यामा आँखा रोग संक्रमित आउने गरेको बताए । उनले यो रोग प्रकोपका रूपमा फैलिरहेको र महामारीकै रूप लिन सक्ने जोखिम रहेको बताए ।
नेपाल नेत्र ज्योति संघको देशभरका २७ वटा आँखा अस्पताल र १ सय ५० आँखा उपचार केन्द्रबाट संकलित तथ्यांकले पनि आँखा पाक्ने रोग देशभर प्रकोपका रूपमा फैलिरहेको र कुनै पनि बेला महामारीको रूप लिने जोखिम रहेको देखिएको छ । संघका अनुसार पछिल्लो साता पूर्व विराटनगरदेखि सुदूरपश्चिमको धनगढीसम्म आँखा पाक्ने रोग संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । केही अस्पतालका बहिरंग विभागमा आउने बिरामीमध्ये ८० प्रतिशतभन्दा बढी त आँखा पाक्ने रोगको उपचार गराउन आउनेहरू रहेको चिकित्सक बताउँछन् ।