आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई छात्रवृत्तिको विवरण पेश गर्न विराटनगर महानगरपालिकाको २४ घन्टे आदेश

Everest Fuji News २०८० श्रावण ८ मा प्रकाशित       Published at 2023 Jul 24


विराटनगर महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई छात्रवृत्तिको विवरण पेश गर्न २४ घन्टे आदेश दिएको छ । महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतबार बसेको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयलाई कारबाही गर्ने निर्णय गरेको छ ।

महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा आइतबार बसेको बैठकले शैक्षिक सत्र २०७९ को बालविकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बालविकासदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण हालसम्म पेश नगर्ने विद्यालयमाथि कारबाही अगाडि बढाउने निर्णय गरेको हो ।

विवरण पेश नगर्ने विद्यालयको नाम महानगरको वेबसाइटमार्फत सार्वजनिक समेत गरेको छ । सोमबार ५ बजेसम्म छात्रवृत्तिको सम्पूर्ण विवरण पेश नगरे महानगरले त्यस्ता विद्यालयलाई कारबाही गर्ने छ । मेयर कोइरालाले भने महानगरले पटक–पटक विवरण उपलब्ध गराउन ताकेता गर्दा पनि विद्यालयले बेवास्ता गरेपछि महानगर कारबाहीको प्रक्रियामा अगाडि बढेको हो ।

एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र संस्थागत विद्यालयको संख्या ८९ रहेको छ । त्यस्तै (आईईएमआईएस) मा दर्ता नभएका विद्यालयसहित महानगरभित्र करिब एक सयको हाराहारीमा संस्थागत विद्यालय सञ्चालनमा छन् ।

त्यसमध्ये आइतबार कार्यालय समयभित्र ६५ वटा विद्यालयले शैक्षिक सत्र २०७९ को छात्रवृत्ति वितरणको विवरण पेश गरेका छन् । सोही शैक्षिक सत्रमा २७ वटा विद्यालयले अझै विवरण पेश गरेका छैनन् । त्यस्तै २०८० का लागि ५५ वटा विद्यालयले विवरण पेश गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश खड्काले जनाए । उनका अनुसार २०८० का लागि ३७ वटा विद्यालयले विवरण पेश गर्न बाँकी रहेको छ ।

यसैगरी शैक्षिक सत्र २०८० मा कक्षा ११ को छात्रवृत्ति व्यवस्थापन सम्बन्धी परीक्षा महानगर आफैंले लिने तयारी गरेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.