काठमाडौं- मंगलबार साँझसम्मको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ८० जना कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितहरुमध्ये एक तिहाई उपत्यका बाहिरबाट आएका हुन् ।
उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि संक्रमितलाई कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या हुन थालेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ८० जनामध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारी समेत रहेको छन्।
तीमध्ये प्रदेश नम्बर २ का सबै जिल्ला र भारतबाट आउने बढी संक्रमित छन्।
संक्रमण देखिनेमा लकडाउनका समयमा घर गएर फर्किएकाहरु नै बढी छन्। जसमा कपाल काट्ने, तरकारी तथा फलफूल बेच्ने, मजदुरी गर्ने र अन्य व्यवसाय गर्ने व्यक्तिहरु बढी रहेका महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार केही व्यक्तिहरु भने कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा परीक्षण गर्दा संक्रमित पाइएका हुन्।
प्रदेश नम्बर २ बाट काठमाडौं छिर्नेमध्ये धेरैजना काभ्रे र भक्तपुरको साँगाहुँदै आएको देखिन्छ। जसका कारण भक्तपुरमा संक्रमित बढी देखिएको महाशाखाले जनाएको छ।
महाशाखाका निर्देशक डा वासुदेव पाण्डे उपत्यकाका बुढानिलकण्ठ, कपन, शंखमूल, कालीमाटी, नख्खु, गोदावरीका साथै भक्तपुरका विभिन्न ठाउँहरु संक्रमण देखिएको बताउँछन्।