केही समयअघि एक संस्थाले काठमाडौंका विभिन्न चार स्थानबाट संकलन गरिएको ढलको अध्ययन गर्दा कोरोना भाइरस भेटिएको समाचार आयो। ढलमा कोरोना भाइरस भेटिनुको अर्थ कोरोना भाइरस समुदायमा रहेको र त्यसबाट संक्रमण फैलन सक्ने आशयका समाचार आएपछि जनमानसमा त्रास उत्पन्न भएको थियो। अहिले पनि यो विषयमा बहस जारी नै छ।
ढलमा देखिएको भाइरस मानिसमा सर्छ कि सर्दैैन? भनेर हामीले नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग सोधका छौँ।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियरका अनुसार मानिसको दिशामा भाइरस देखिनु अनौठो नभएको बताउँछन्। संक्रमित व्यक्तिको दिसामा भाइरस देखिने र त्यो दिसा ढलमा मिसिँदा भाइरस देखिएको उनले बताए।
कोरोना भाइरस थुकका छिटाबाट सर्ने भन्दै डा भ्यान्देलियरले हालसम्म ढलमा देखिएको भाइरस मानिसमा सर्छ कि सर्दैन भन्नेबारे अध्ययन नभएको जानकारी दिँदै आंतकित नहुन अनुरोध गरे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोरोना बिफ्रिङमा ढलमा कोरोना भाइरस देखिएपनि त्यो भाइरस मानिसमा रोग सार्ने क्षमताको नभएको स्पष्ट पारेको थियो।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा कोरोना भाइरसको पहिचान भएपनि त्यो मानिसमा नसर्ने तर अन्य संक्रमणको जोखिम रहने भएकाले सजक रहनुपर्ने बताउँछन्।
काठमाडौंमा ढलको पानीमा कोरोना भाइरस छ कि छैन भनेर गरिएको अनुसन्धानको नेतृत्व गरेका डा दिवेश कर्माचायले समुदायमा लक्षण नभएका संक्रमित छन् भन्ने संकेत सो अध्ययनले गरेको उल्लेख गरे। उनले ढलको भाइरसबाट संक्रमण फैलन सक्ने सम्भावनाबारे थप अनुसन्धान हुनुपर्ने तर्क प्रस्तुत गरेका छन्।
विभिन्न अध्ययनहरुले संक्रमित व्यक्तिको दिसामा कोरोना भाइरस हुने र त्यो दिसा ढलमा मिसिएकाले ढलमा देखिएको बताएका छन्। ढलमा भेटिएको भाइरसबाट संक्रमण सर्छ कि सर्दैन भन्नेबारे पछि हुने अध्ययनले पुष्टि गर्ने नै छन्। तर, ढलबाट अन्य संक्रमणको जोखिम भने रहन्छ। त्यसैले हामीले आफ्नो सरसफाईमा ध्यान दिने, शौचालयको सरसफाई गर्ने, हातको सरसफाई गर्न भने भुल्नु हुँदैन।