गैरसरकारी चिकित्सक संघ गठन, अध्यक्षमा दुवा, महासचिवमा थापा
Everest Fuji News२०७५ श्रावण ३० मा प्रकाशितPublished at 2018 Aug 15
काठमाडौं– गैरसरकारी संस्थामा कार्यरत चिकित्सकहरुले नयाँ संस्था गठन गरेका छन्। लामो समयदेखि छलफल चल्दै आएपनि संस्थाले आज मुर्त रुप लिएको हो।
सरकारी सेवा बाहिर रहेर बिरामीको सेवा तथा स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेका डाक्टरहरुले ‘गैरसकारी चिकित्सक संघ’ गठन गरेका हुन्। संघको अध्यक्षमा डा यम प्रसाद दुवा चयन भएका छन्। यस्तै महासचिवमा डा रितेश थापा छन्। ९ सदस्यी संघले निजी तथा सरकारी सेवाभन्दा बाहिर रहेका डाक्टरहरुको पेशागत हकहित, सुरक्षा, क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा काम गर्ने नवनियुक्त महासचिव डा थापाले जानकारी दिए।
डा थापाका अनुसार निजी क्षेत्रमा कार्यरत डाक्टरहरुले देशैभर सेवा दिइरहे पनि उनीहरुको योगदानको कदर नभएको र संस्थागत आवाज बाहिर नआएको भन्दै संस्था बनाउनु परेको हो। उनले देशभरमा १८ हजार हाराहारीमा गैरसरकारी डाक्टरहरु रहेका जानकारी दिए।
डा थापाले मुलुकी एेनमा चिकित्सकहरुका विषयमा राखिएको व्यवस्थाप्रति संघको विरोध रहेको पनि बताए।
सरकारी सेवामा रहेका डाक्टरहरुकाे सरकारी चिकित्सक संघ नामको संस्था छ। चिकित्सकहरुको छाता संस्था भने नेपाल चिकित्सक संघ हो।