Everest Fuji News२०७५ असार ३१ मा प्रकाशितPublished at 2018 Jul 15
३१ असार, काठमाडौं । जुम्लामा १६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको घाँटीमा संक्रमण देखिएको छ । चिसोका कारण तीन दिनदेखि फेरेन्जाइटिस नामक घाँटीको संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् ।
फेरेन्जाइटिसकै कारण उनको आवाजमा समेत परिवर्तन आएको छ ।उनको रगतमा सेतो कोषिकाको मात्रा कम हुनुका साथै घाँटी दुख्ने, घाटी खसखसाउने, खोकी लाग्ने, पेट दुख्ने, मुटुको चालमा गडबडी हुने, मांसपेशी बाउडिने जस्ता समस्या देखिएको छ । उनको रगतमा म्याग्नेसियमको मात्रा समेत कम हुँदै गएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
डा. केसी निकट डा. विषद दाहालले भने, ‘डा. केसीको अवस्था नाजुक हुँदै गएको छ । उनमा प्रत्येक पटक नयाँनयाँ समस्या देखिँदै गएकोमा अहिले फेरेन्जाइटिस देखिएको छ ।’
फेरेन्जाइटिस विशेषगरी घाँटीको पछाडि रहेको टन्सिल तथा भोकल बक्सबीचको भाग सुन्निएर हुने गर्छ ।
फेरेनजाइटिस भएमा खोकी लाग्ने, रुघा लाग्ने, जीउ दुख्ने, ज्वरो आउने टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने लगायतको समस्या हुने गर्छ ।
फेरेन्जाइटिसको समयमै उपचार नगरे मिर्गौलालाई असर गर्नुका साथै बाथ ज्वरोका कारण मुटुको भल्भमा समेत गभीर असर पार्ने चिकित्सकहरु बताउँछन् ।