टोकियो।
जापानमा रहेका नेपालीहरुको स्वास्थ्य स्थितीको सुधार र स्वास्थ्य सेवाको पहुँच सम्बन्धमा कृयाशिल रहेका नेपाली र जापानी चिकित्सक तथा बिज्ञहरुको सक्रियतामा, यही मार्च २१ बुधबार सार्वजनिक बिदाको दिन पारेर टोक्यो आसागया स्थित एभरेष्ट इन्टरनेसनल स्कुलमा नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुन गईरहेको छ । उक्त शिविरको समय बिहान १० बजे देखि बेलुका ५ बजे सम्म रहनेछ।
भाषाको कारण स्वास्थ्य सुबिधा लिन अप्ठ्यारो भएका, स्वास्थ्य बिमा नभएका र विभिन्न कारणले स्वास्थ्य सेवा लिन नसकेका नेपालीलाई लक्षित गरि यो शिविर गर्न थालिएको हो । नेपाल तथा जापानमा स्वास्थ्य सेवाको पहुँच सम्बन्धि कार्यमा संलग्न संस्था Affordable and Sustainable Healthcare Access (ASHA) http://asha-np.org/ को आयोजना तथा गैर-आवासिय नेपाली संघ-जापानको बिशेष सहयोगमा हुन लागेको यस शिविरमा टोक्यो महानगरपालिकाले नि:शुल्क एक्स रे सुबिधा उपलब्ध गराएको छ ।
शिविरमा आप्रबाशीहरुको स्वास्थ्य क्षेत्रमा लामो समय देखि क्रियाशील जापानी चिकित्सक डा. ताकाशि शावादा र डा. तोमिता शिगेरुका अतिरिक्त अध्ययन र कामको शिलशिलामा जापानमा रहेका डा. सन्दिप शाक्य ,डा. प्रकाश शाक्य ,डा. सुमन श्रेष्ठ, डा. रिचा शाह ,डा. अभिषेकी श्रेष्ठ, डा. दिपेन्द्र गौतम लगायतका नेपाली चिकित्सकहरु र क्लिनिकल मनोबिद डा.विजय ज्ञवालीले आफ़्नो सेवा दिनु हुनेछ ।
शिविरमा सेवा लिन कुनै प्रकारको स्वास्थ्य बिमा कार्ड र रेशिडेन्स कार्डको आवस्यकता पर्ने छैन। शिविरमा उपलब्ध सम्पूर्ण सेवा पूर्ण रूपमा नि:शुल्क हुनेछ। थप उपचार आवस्यकता भएका बिरामीलाई रेफर पत्र उपलब्ध गराइने छ, जुन सुबिधाले थप उपचारको प्रकृयालाई सहज र सस्तो बनाउन सहयोग हुनेछ। शिविरमा बिरामीको रोगको अवस्था हेरेर छातिको एक्स रे, इ .सि .जी., मुटुको भिडियो एक्स रे, मधुमेह रोगको जाँच र दन्त परिक्षण सेवा नि:शुल्क उपलब्ध हुनेछ । महिला सम्बन्धित रोगको लागि शिबिरमा २ जना नेपाली महिला चिकित्सक पनि उपलब्ध हुनुहुनेछ ।
नेपाली चिकित्सकहरुको यो समुहले आयोजना गरेको यस्तो शिविर जापानमा चौथो पटक हुन थालेको हो । शिविरको बारेमा विस्तृत जानकारी को लागि फेस बुक पेज Nepalese Health in Japan https://www.facebook.com/nepalesehealthinjapan/ मा म्यासेज गर्न सक्नु हुनेछ।