जापानी राजदूत मासासी ओगावा र इन्टरनेशनल कन्र्सन सेन्टरका अध्यक्ष प्रा.डा. अन्जान शाक्यबीच नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरलाई जापान सरकारले करिब ८६ लाख रुपैयाँ बराबरको अस्पतालका लागि आवश्यक उपकरण दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
जापानी दूतावास पानीपोखरीमा ओगावा र शाक्यबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। हस्ताक्षरपत्रमा अल्ट्रासाउण्ड इको कार्डियोग्राफी, इआरसीपी, ब्रोन्कोस्कोपी मेसिशनलगायतका उपकरण दिने उल्लेख छ। ललितपुरको हरिसिद्धिमा सञ्चालित सो अस्पताललाई दिइने उपकरण गैर नाफामुलक संस्था आइसीसीमार्फत दिन पाएकोमा आफूलाई खुशी लागेको राजदूत ओगावाले जानकारी दिए। ‘जापानी दूतावासले गरेको यो सहयोगले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरलाई अझ धेरै विरामीलाई उपचारमा सहज होस भन्ने आशा लिएको छ,’ उनले भने, ‘सन् २०११ मा स्थापना भएको आइसीसीले यस्ता सामाजिक कार्यहरु अझै गर्न सफल होस्। सोही संस्थामार्फत हामीले क्यान्सर अस्पताललाई सहयोग गर्न पाएकोमा खुशी लागेको छ।’
दूतावासले करिब ८६ लाख बराबरको उपकरण सहयोग गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा आइसीसीका अध्यक्ष डा. शाक्यले आफ्नो संस्थाले यस्ता खाले सामाजिक कार्य गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरले गरिब निमुखा विरामीहरुका लागि अझै बढी काम गर्न सकोस भनेर आफ्नो संस्थाले अस्पताललाई आवश्यक उपकरण उपलब्ध गराएको जानकारी दिए। ‘हाम्रो पहलमा दूतावासले गरेको यो सहयोगले सो अस्पतालबाट प्रत्येक महिना सयौं जनाले उक्त सेवा प्राप्तगर्न सक्नेछन्,’ डा.शाक्यले भने, ‘अस्पतालले यो परियोजनालाई भरपुर उपयोग गर्ने अपेक्षा गरेका छौँ ।’ उनले दूतावसले गरेको सहयोग उल्लेखनीय भएको पनि बताए।