काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको १२ अर्ब रुपैयाँ लगानीमा निर्मित अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न नेपाल मेडिसिटी अस्पतालले सेवा सुरु गरेको छ। ललितपुरको नख्खुस्थित अस्पतालले गुणस्तरीय उपचार र बिरामीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै सेवा सुरु गरेको औपचारिक जानकारी गराएको हो।
३० रोपनी जग्गामा निर्मित अस्पतालका अत्याधुनिक भवन भूकम्प प्रतिरोधात्मक छन्। अस्पतालमा आकस्मिक, ओपीडी र दुईवटा शल्यक्रिया कक्षबाट सेवा सुरु गरेको हो। अस्पतालका अध्यक्ष डा. महतोले एनआरएनको स्थापना दिवसका अवसरमा अस्पतालमै बुधबार आयोजित कार्यक्रममा अस्पतालको सेवा, सुविधा र भावी योजनाबारे जानकारी गराए।
१० दिनभित्र अन्य ७ वटा शल्यक्रिया कक्ष सञ्चालनमा ल्याउने तयारीमा अस्पताल जुटेको छ। डा. महतोले कुनै पनि नेपालीले कुनै पनि रोगको उपचार गर्न विदेश धाउन नपरोस् र बिदेसिएको जनशक्ति नेपालमा फर्काउन अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिए। अस्पताल दक्षिण-पूर्वी एसिया क्षेत्रकै उत्कृष्ट बनाउन लागेको जानकारी दिए। उनले नेपालमा स्वास्थ्य पर्यटनको विकासमा अस्पतालले टेवा पुर्याउने बताए। नेपालमा सुरु भएका तर सबैको पहुँचमा नपुगेका उपचारसँगै उत्याधुनिक प्रविधियुक्त नयाँ-नयाँ सेवासमेत विस्तार गर्ने योजना अस्पतालको छ।
अस्पतालका मेडिकल डाइरेक्टर डा.सुनील शर्मा ढकालका अनुसार गुस्तरीय उपचार, अनुसन्धान र अध्ययन÷अध्यापन सँगसँगै अघि बढाइनेछ। आगामी ६ महिनामा एक वर्षभित्र बोनम्यारो, मिर्गौला, कलेजो प्रत्यारोपण सुरु गर्ने गृहकार्यमा जुटेको उनले जानकारी दिए। क्यान्सर रोगको पहिचान र उपचारमा विकसित देशका अस्पतालले प्रयोग गरेको ‘रेगुलर ट्युमर बोर्ड' सञ्चालनमा ल्याइएको छ। यसअनुसार क्यान्सर रोगीलाई कम्तीमा ७ जना विशेषज्ञ चिकित्सकले छलफल गरेपछि मात्रै उपचारको निर्णय लिनेछन्। ज्येष्ठ नागरिकलाई कसरी स्वस्थ र सुरक्षित रहने ३÷३ महिनामा घरमा र अस्पतालमा परामर्श तथा स्वास्थ्य परीक्षणको कार्यक्रम पनि अस्पतालले अघि सारेको छ। त्यसको पहिलो कार्ड एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानले लिएका छन्।
अस्पतालले ३ वर्षभित्र शड्ढयाको संख्या ७ सय ५० पुर्याउनेछ। न्युरो साइन्सेज, कार्डियाक साइन्सेज, ग्यास्ट्रो साइन्सेज, रिनल साइन्सेज, अर्थो एन्ड स्पोर्टस् मेडिसिन तथा अंकोलजीलाई ‘सेन्टर अफ एक्सीलेन्स'का रूपमा अस्पतालले अघि बढाउनेछ। अस्पतालमा टेस्ला एमआरआई, २ सय ५६ स्लाइसको सीटीस्क्यानका साथै ५२ वटा ओपीडी कक्ष छन्।
यस कारण खोले महतोले अस्पताल
महतोले समयमै रोगको उपचार हुन नसक्दा आफ्नी आमाले असमयमै ज्यान गुमाउनुपरेकाले र अहिले पनि नेपालीको त्यही स्थिति रहेको र दक्ष नेपाली चिकित्सक बिदेसिएकाले आफू अस्पताल सञ्चालन गर्न अघि सरेको बताए। ‘मेरो आमाले उपचार नपाएर ज्यान गुमाउनुभयो। अहिले पनि मेरी आमा जसरी नै सयौं नेपालीको मृत्यु भइरहेको छ', उनले भने, ‘यहीँ केही गर्न चाहने चिकित्सक भेटें र उहाँहरू साथ दिन तयार भएपछि मैले अस्पताल खोल्न हौसला पाएँ।' उनले राजधानीबाहिर पनि सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याउने योजना सुनाए। यसअघि सञ्चारमाध्यम, जलविद्युत्, बैंक, पतञ्जली आयुर्वेदिक उद्योगलगायतमा ठूलो लगानी गरिसकेका छन्।