पहिलो पुस्ताकी नर्स डा उमादेवी दासको निधन (विशेष सामग्रीसहित)

Everest Fuji News २०७४ आश्विन २४ मा प्रकाशित       Published at 2017 Oct 10


काठमाडौं– पहिलो पुस्ताकी नेपाली नर्स डा उमादेवी दासको निधन भएको छ । उनको गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली पहिलो नर्सका रुपमा ल्हामू अमात्यलाई सरकारले मान्यता दिएपनि नेपालीकी छोरीका रुपमा पहिलो नर्स दासलाई मानिन्छ । नेपाली नागरिकसँग विवाह गरेर आएकी अमात्यलाई सरकारले पहिलो नर्स केही महिनाअघि मात्रै घोषणा गरेको हो । त्यसअघि दासलाई पनि पहिलो नर्स मानिन्थ्यो । दास नेपाल नर्सिङ एशोसियसनकी पहिलो अध्यक्ष समेत हुन्। उनलाई भेटेर स्वास्थ्यखबरले केही समयअघि तयार पारेको सामग्रीः डा दासको सावर्जनिक जीवन २००४ सालमा सुरु हुन्छ । त्यतिखेरका श्री ३ महाराज पद्मशमशेरले छात्राका लागि छुट्टै स्कुल खोल्न चाहेछन् । स्कुलमा छात्रा त चाहिन्थ्यो नै, शिक्षिका पनि चाहिन्थ्यो । तत्कालीन एजुकेसन डाइरेक्टर मृगेन्द्रशमशेरले प्रख्यात शिक्षासेवी ठाकुरदास मास्टरजीलाई गुहारे। ठाकुरदासले विन्ती गरे, ‘केका लागि होला हजुर ?’ डाइरेक्टरले भने, ‘हामी पद्मकन्या स्कुल खोल्दैछौं । तपाईंकी छोरीलाई पढाउन पठाइदिनुपर्‍यो।’ यसरी १६ वर्ष पनि नपुगी २००४ जेठ ३ गते उमादेवी दास क्षेत्री मास्टर्नी भइन् श्री ३ महाराजलाई दाम राखेर । पद्मकन्यामा एक बंगाली महिला हेडमिस्ट्रेस थिइन् । १० जना बूढा मास्टर र तीनजना मास्टर्नी थिए । उमाले नेपाली र हिसाब पढाइन् । उनका साथी विमलाले संगीत र नीरकुमारीले सिलाइबुनाइ सिकाए।   त्यतिखेर महिनाको ३२ रुपियाँ तनखा आउँथ्यो । पद्मकन्याको छुट्टै भवन थिएन । दरबार हाइस्कुलमै बिहान ६ बजेदेखि ९ बजेसम्म पठनपाठन हुन्थ्यो । कन्याहरु स्कुल आउने बेला भोटाहिटीको रातो गेटमा जात्रा लागेजस्तो हुन्थ्यो । सहरबासी पुरुष छोरीचेली पढाउने कुराको समर्थनमा थिएनन् । जनमानसमा छोरा पढे डाइभर हुन्छन्, छोरी पढे नर्स बन्छन् भन्ने धारणा थियो । तिनले छात्रा र मास्टर्नीहरुलाई पनि हतोत्साही पारेपछि दरबार स्कुलको ढोकामा रोजिन्दै चार, पाँचजना प्रहरी तैनाथ हुन्थे । त्यतिबेलासम्म उमादेवीले कुनै शिक्षालय टेकेकी होइनन् । औपचारिक डिग्री पनि थिएन । त्यतिखेरको बन्द समाजमा राणा शासकका आसेपासेबाहेक सर्वसाधरणले पढ्न पाएका थिएनन् । छोरीचेली चुलोचौकामै सीमित थिए । उमाले होम स्कुलिङ पाइन् । पिताजी कति शिक्षाप्रेमी थिए भने उनले आफ्नामात्र नभएर छरछिमेकका छोरीबुहारीलाई घरमा लेखपढ गराए । पछि उमाले पनि पढाइन् । वनारस हिन्दु विश्वविद्यालयबाट बीए, विसारद गरेका ठाकुरदास कोलकाताबाट आउने अखबार ‘स्टेट्सम्यान’ छोरीहरुलाई पढ्न लगाउँथे र सुन्थे । छोरीहरुलाई छोरासरह शिक्षा दिनुपर्ने उनको धारणा थियो ।   लौ त भनुँ भने उनी सबै राणाजीहरुका गुरु हुन् । उनले ट्युसन नपढाएका राणा कमै होलान् । महात्मा गान्धीका अनुयायी ठाकुरदास स्वदेशी खद्दरको लुगा लगाएर चराले झैं हल्का पाइला चालेर हिँड्थे । उनले आजन्म खद्दरबाहेकका लुगा लगाएनन् । डिल्लीबजारको बारीमा कपास रोपी धागो काती घरमै खेस कपडा बुनी बाहिरी र भित्री लुगा आफैं सिलाउँथे । १९९० सालमै भक्तपुर हाइस्कुलका हेडमास्टर भएका उनी पजनी (खोसुवा) मा परेका थिए । पद्मकन्याको स्कुले वातावरणबाट वाक्क भइन् उमा । त्यसको एकाध वर्षपछि सरुवा भइन् घरनजिकैको विजय मेमोरियल स्कुलमा । २००९ सम्म त्यो क्रम चल्यो । आयुर्वेद, होमियोप्याथी, एलोप्याथी र हकिमतर्फ पनि सामान्य ज्ञान भएका उनका पिता अभर पर्दा साइकलमा औषधिउपचार गर्न पनि पुग्थे । एक दिन उनले एउटी छोरी नर्स बनेको सपना देखेछन् । त्यो सपना कि उमाले पूरा गर्नुपथ्र्यो, कि त उनकी माइली दिदी लीलाले । हुन पनि सन् १८५४ मा बेलायत–रुस युद्धको समय हुँदा इटालीमा जन्मेकी फ्लोरेन्स नाइटिङ्गेलले टर्कीको मिलिटरी हस्पिटलमा मैनबत्तीको उज्यालो लिएर घाइते सिपाहीको सेवासुश्रुषाले ठाकुरदासको मथिंगल हल्लाइदिएको थियो । उनको विशुद्ध सेवा भावनाको उच्च मूल्यांकन गर्दै बेलायत सरकारले ’नेसनल हिरोइन‘ को उपमा दियो र पछि गएर सारा विश्वकै आदर्श बन्न पुगिन् । मौका चानसले एक सरकारी अधिकारीसँग भेट भयो । उनले ठाकुरदासलाई भनेछन्, ‘मिसनरी अस्पताल फत्तेगढ (उत्तर प्रदेश) बाट नर्स/मिडवाइफको चारवर्षे तालिमका लागि दुइटा कोटा आएको छ । कोही छ भने सम्पर्क गराइदिनुस् न ।’ त्यही कुरा त्यतिखेरका स्वास्थ्य मन्त्री रहेका गुरुङ थरका मन्त्रीले पनि दोहोर्‍याएछन् । त्यसो त नर्स बन्ने कुनै रहर थिएन उमाको । बरु उनलाई भारत घुम्न मन थियो । वनारसमा रहेकी बज्यै र दिल्लीमा बिहेवारी भएकी दिदीसँग भेट्न मन लागेको थियो । छोरीलाई नर्स बनाउने कुरामा आमा गम्भीरकुमारी पनि सहमत भइनन् त्यति टाढा कहाँ छोरीलाई पठाउने भनेर । तर पिताजीका अगाडि तिनको के लाग्थ्यो र ? भोलिपल्टै उमा स्वास्थ्य मन्त्रीकहाँ हाजिर भइन् । उनले साथी खोज्ने जिम्मा पाइन् । उनकी साथी थिइन्, रुक्मिणीचरण श्रेष्ठ । कम्पाउन्डरकी छोरी रुक्मिणी तयार नहुने कुरै थिएन । यसरी रक्सौल नकाटेका उमा र रुक्मिणी जनही २ सय ५० रुपियाँ सरकारी बाटोखर्च लिएर भीमफेदी हुँदै वनारस पुग्दा बज्यै रोइन् । नातिनीलाई पाल्न नसकेर नर्स बनाउन पठायो भनेर छोरासँग रिसाइन् पनि ।   पिताजीले नक्सा बनाएर नर्सिङ पढ्ने ठाउँ देखाउनुभएको थियो,’ उनी सम्झिन्छिन्, ‘दिदीबाट यति टाढा, बज्यैबाट यति टाढा भनेर ।’ यो इतिहास हो, २००९ सालको । बज्यैले बनारसबाट एउटा साथी पनि पठाइदिइन् । कानपुरभन्दा ६ गाउँ उत्तर दिल्ली र अहमदावादको बीचमा रहेको फत्तेगढ पूरै मुस्लिम बस्ती रहेछ । जुलाईको गर्मीमा बिजुली बत्ती पनि थिएन । खान बस्नका लागि महिनाको भारु ७ रुपियाँ आउँथ्यो । त्यहाँको कलेजमा पुग्ने पहिलो हिन्दु छोरी रहेछन् उनीहरु । गरिबलाई क्रिस्चियन बनाउने ब्रिटिस मिसन मान्थे त्यसलाई । किन किन उनलाई त्यहाँको रहनसहन पटक्कै चित्त बुझेन । एक दिन त कक्षामा पनि गइनन् । बरु पोकापन्तरा बाँध्न थालिन् । स्कुल अफ नर्सिङ, मेमोरियल हस्पिटल फत्तेगढकी अमेरिकन प्रिन्सिपल वानिताले उनलाई बोलाउन पठाइन् । चिया र केक खान दिइन् । अनि सोधिन्, ‘क्लासमा किन नआएको ?’ उमाले भनिन्, ‘म दादीकहाँ जान्छु वनारस । यहाँ बस्दिनँ ।’ प्रिन्सिपलले फकाईफुल्याई गरिन् र उमाको मनस्थिति पूरै परिवर्तन गरिदिइन् । वानिताले भनेको कुरा अझै पनि उमादेवीको कानमा गुन्जिरहेको छ, ‘यु विल बी फस्र्ट नर्स इन नेपाल ।’ नभन्दै भयो पनि त्यस्तै । नर्सिङमा अब्बल सावित भइन् उमा । हरेक परीक्षामा उनै फस्र्ट आइन् । वानिता भन्न थालिन्, ‘तिमी भविष्यमा बेस्ट नर्स हुन्छौ ।’ वानिता फत्तेगढबाहिरका हरेक निम्तामा उनलाई नै लिएर जान्थिन् । पटनादेखि राजस्थानसम्म पुगिन् उनी । तीनवर्षे कोर्स र एक वर्षे इन्टर्नसिप सकेलगत्तै चाँडै फर्कन नेपाल सरकारले पत्र पठाएछ । वानिताहरुले भने उनलाई अझै एक वर्ष बस्यौ भने अमेरिकाको रिभरसाइट चर्च (कोलम्बिया) मा पढ्न पठाउने भनेका रहेछन् । तर, सन् १९५२ देखि १९५६ सम्म रजिस्टर्ड नर्स एन्ड रजिस्टर्ड मिडवाइफ बनेर उमा फर्किन् । त्यतिखेर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नर्सिङ ट्रेनिङ स्कुल खोल्न लागेको रहेछ नेपालमा । २०१३ सालमा १० विद्यार्थीलाई लिएर नेपालमा औपचारिक रुपमा नर्सिङ अध्ययनको सुरुआत हुन पुग्यो । त्यहाँ उनले सिनियर नर्स ट्युटर, सुपरिटेन्डेन्ट र नेसनल डाइरेक्टर नर्स भएर काम गरिन् । सन् १९५७ देखि ७२ सम्म त्यहीँ बित्यो । उनले उताबाट आएपछि उनै प्राइभेट म्याट्रिकुलेसन (एसएलसी) गरेकी हुन् । त्यतिबेला शान्त भवन अस्पतालमा नेपाली नर्स थिएनन् । भएका नर्स सबै विदेशी । सुरेन्द्र भवनमा स्कुल अफ नर्सिङ बस्यो । पछि क्षेत्रपाटीको श्रेष्ठ निवासमा सर्‍यो । उनी व्यावहारिक तालिमका लागि विद्यार्थी लिएर वीर अस्पताल पुग्थिन् । यस क्रममा उनले थोरै समय ल्हामु अमात्यसँग पनि काम गरेकी थिइन् । दाजिर्लिङमा जन्मिएर कोलकाताबाट नर्सिङ सुरु गरेकी ल्हामुको राजदरबारसँग राम्रो हिमचिम थियो । त्यसो त १९८५ सालमा चन्द्रशमशेरको पालामा विद्यादेवी, राधादेवी, विष्णुदेवी तथा धर्मदेवीलाई प्रसूति सेवासम्बन्धी डेढवर्र्षे तालिमका लागि भारत पठाइएको सरकारी अभिलेख पनि छ । त्यसअघि विदेशबाट नर्स झिकाएर राजपरिवार तथा विशिष्ट घरानाको सेवामा लगाउने चलन थियो । उमाले पन्जाब युनिभर्सिटीअन्तर्गतको कलेज अफ नर्सिङ पोस्ट ग्य्राजुएट इन्स्टिच्युट चन्डीगढबाट बीएस्सी नर्सिङ (पोस्ट बेसिक) गरिन् । संयोग के भने उनलाई पहिले हाँ पठाउने भनिएको थियो, त्यहाँ गएर नर्सिङमै एमए र एमएडको उपाधि पनि लिइन् । कोलम्बिया युनिभर्सिटीको टिचर्स कलेज न्युयोर्कबाटै सन् १९८४ मा डक्टर अफ एजुकेसन इन नर्सिङ उपाधि लिइन् । उनको विद्यावारिधिको थेसिस थियो, गाइडलाइन फर सेलेक्टिङ प्राइमरी हेल्थ केयर नर्सिङ कन्टेन्ट फर प्रोफेसनल नर्सिङ प्रोग्राम इन नेपाल । उनी नेपालमै नर्सिङको पहिलो पीएचडी हुन् । २०२९ सालमा नयाँ शिक्षा योजना लागू भई सम्पूर्ण नर्सिङ स्कुल, कलेज त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानमा गाभिए । जापानी सहयोगमा बनेको नर्सिङ क्याम्पस खुल्यो । त्यसको पहिलो प्रिन्सिपल हुने संयोग उनलाई जु¥यो । सन् १९७२ देखि १९८० सम्म नर्सिङ क्याम्पसको प्रमुख रहिन् । सुरुमा महाबौद्धमा रहेको क्याम्पस पछि मात्रै महाराजगन्जमा सरेको हो । सन् १९८४ देखि १९८७ सम्म चिकित्साशास्त्र अध्ययन संस्थान फिल्ड एजुकेसन प्रोजेक्टको कोअर्डिनेटरको जिम्मेवारी सम्हालिन् । सन् १९९६ मा उनले प्रोफेसर भएर अवकाश लिइन् । नर्सिङ क्याम्पसका प्रारम्भिक वर्षमा विद्यार्थी जुटाउनै मुस्किल भयो । राजधानीबाहिर रिक्रुट गर्न जानुपथ्र्यो । नर्सिङप्रति जनमानस सकारात्मक भइसकेको थिएन । यो पेशा मर्यादित हो भनेर देखाउन राजा महेन्द्रले आफ्नी कान्छी बुहारी प्रेक्षा शाहलाई नै नर्सिङ पढ्न पठाए । ‘प्रेक्षा ल्याउन, लैजान अधिराजकुमार धीरेन्द्र नै गाडी लिएर आउँथे,’ उनी सम्झिन्छिन्, ‘मैले उनलाई राजकुमारी भनेर अलग्गै राखिनँ । अरुसँगै बसेर परीक्षा दिलाएँ । मसँग अलि डराउँथिन् पनि ।’ बुहारी प्रेक्षाको तीनवर्षे तालिम र ६ महिना अभ्यास गरेपछि टोपी वितरण कार्यक्रममा रानी रत्न नै आएकी थिइन् । राजा महेन्द्रले उमालाई नजिकबाट चिन्थे । कहिलेकाहीँ सोध्थे, ‘भेरीबाट रिक्रुट किन नगरेको  ?’ एकपटक दिल्लीमा भेट्दा उनले भनेछन्, ‘तिमी त दुब्लो थियौ । अहिले त मोटाइछौ ।’ राजा महेन्द्रकी आमा कान्तिको मिर्गौला समस्या भएर वीर अस्पताल आएका बेला उमालाई चिनाइदिन खोजेछन् डा. गौरीशंकरलाल दासले । एलिफेन्ट मेमोरी भएका राजाले भनिहाले, ‘उहाँलाई म चिन्छु । डिल्लीबजारका ठाकुदास मास्टरकी छोरी होइन ?’ राजपरिवारसँग उनको घनिष्टता कस्तो थियो भने तत्कालीन युवराज वीरेन्द्रको बिहेमा पनि निम्त्याइएकी थिइन् उमा । विवाहमा उनी एक्लो महिला जन्ती भइन् । २०५२ सालमा पहिलोपटक नेपाल नर्सिङ काउन्सिल गठन हुँदा पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्य मन्त्री थिए । उनले नै नर्सिङ काउन्सिलको अध्यक्षमा प्रस्ताव गरे । उनी दुई कार्यकाल लगातार त्यहाँ रहेर काम गरिन् । उनकै कार्यकालमा विभिन्न विश्वविद्यालय तथा संस्थाहरुबाट नर्सिङ शिक्षा लिएकाको गुणस्तर मापनका लागि लाइसेन्स परीक्षा प्रारम्भ भयो ।   नर्सिङको हरेक क्षेत्रमा उमाको उत्तिकै योगदान छ । वीर अस्पतालमा नर्सिङ मेट्रोन भएर बिरामीको सेवा दिइन् भने नर्सिङ ट्रेनिङ स्कुलदेखि नर्सिङ क्याम्पससम्मको नेतृत्व लिएर शिक्षा दिइन् । नर्सिङ शिक्षाको गुणस्तर नियमनकारी संस्था नर्सिङ काउन्सिलको संस्थापक अध्यक्ष भएर पनि काम गरिन् । ‘अब नर्सिङमा पनि डा. गोविन्द कोसीजस्तै कोही चाहियो,’ उनी भन्छिन्, ‘हिजोआज नर्सिङ भनेको त अस्ट्रेलिया र क्यानडाको भिसा जस्तो मात्र भयो ।’ नयाँ पुस्ताका नर्ससँग पनि उनले त्यति भरोसा गर्न सकेकी छैनन् । ‘नर्सिङ भनेको ड्युटीमात्र होइन, सेवा हो । अहिले नर्स त चाँडै गर, राउन्ड आयो भन्नेमात्र देख्छु,’ उनको टिप्पणी छ, ‘अहिलेका नर्स बिरामीलाई भन्दा अरुलाई नै महत्व दिन्छन् । लोग्ने, छोराछोरी, पैसा, परिवारको तनावमा छन् । अनि कसरी नाइटिङ्गेलजस्तो होऊन् ?’ बरु केही वर्ष अगाडि नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ बस्दा उनलाई डाक्टरै नर्सजस्तो लाग्यो अरे । उनका सोख खासै भएनन् । रेडियो नेपालको स्थापनाताका केही गीत गाइन् । ती गीत रेकर्ड भने भएनन् । त्यसका लागि भारत जानुपथ्र्यो । मास्टर्नी भएपछि त्यो क्रम टुट्यो । उनी आफ्नो पेसामा यस्तरी डुबिन् कि घरजम गर्ने समय नै पाइनन् । ‘म आफ्नो काममै सन्तुष्ट भएँ, एकपछि अर्को अवसर पाएँ, संसार घुमें,’ उनी भन्छिन्, ‘विवाह गरेको भए अहिलेका सबै चिज कहाँ पाउँथे र ?’ कुनै ठाउँमा सफलता पाउने हो भने केही न केही त्याग गर्नैपर्ने उनको अनुभव छ । खासमा ठाकुरदासका चार छोरीमध्ये साइँली हुन् उमा । उनकी माइली दिदी लीलादेवी केसी होम साइन्सकी पहिलो पीचएडी हुन् । उनले पनि घरबार गरिनन् । कान्छी बहिनी चन्दादेवी प्रख्यात गायिका हुन् । अहिले अमेरिका छन् । एक्ला भाइ वेदव्यास क्षेत्रीले कानुन मन्त्रालयको सचिव र लोकसेवा आयोगको सदस्य रहेर अवकाश पाइससकेका छन् । उनका पिता गीत लेख्थे, लय हाल्थे । २००७ सालमा राजा त्रिभुवन सपरिवार भारतबाट फर्केर आउँदा एयरपोर्टमा स्वागत गर्न जाँदा बहिनी चन्दादेवीसँग गाएको गीत उनलाई अझै कण्ठस्थ छ : नेपालीका वीर त्रिभुवन तिमीले तोड्यौ युगको बन्धन नेपालीका वीर त्रिभुवन… यो गीतमा श्यामदासको शब्दमा लय हालिदिएका थिए ठाकुरदास (बागेश्री) ले । चन्दादेवीले जनार्दन समसँग गाएको गीत ‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली…’ पनि प्रसिद्ध छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.