सामान्यतः ८० वर्ष नाघेपछि प्रायः मानिसलाई अरुको रेखदेख चाहिन्छ । आफैं केही गर्न सक्नेले पनि घर, समाजमै समय बिताइरहेका छन् । वृद्धवृद्धा भएपछि केही गर्दैन भन्ने हामीमा रहेको पुरातन सोचाई र व्यवहार सबैमा लागू हुँदैन । जसको प्रतिनिधित्व गरिरहेका छन्, सगरमाथा आरोही ८६ वर्षीय मिनबहादुर शेरचन । आजभन्दा ९ वर्षअघि सगरमाथा शिखर सफल रुपमा चुमेका शेरचन फेरि त्यही चुचुरोमा पुग्ने तयारीमा छन् । पहिले अनुभवका लागि हिमाल चढे पनि शेरचनले अबको सगरमाथा आरोहणलाई विश्व शान्ति र नेपालको गौरवमय अस्तित्वका लागि भनेका छन् ।
२०७२ सालमै पुनः सगरमाथा चढ्न थालिसकेका शेरचनको अभियानमा नेपालमा गएको शक्तिशाली भूकम्पले अवरोध पु¥यायो । अब पनि त्यस्तै ठूलै प्राकृतिक प्रकोपबाहेक आफूलाई सगरमाथा आरोहणमा केहिले पनि अवरोध गर्न नसक्ने उनको दाबी छ । आरोही शेरचन आगामी फेब्रुअरी अन्तिममा सगरमाथा आरोहण सुरु हुने अपेक्षासहित गत अक्टोबर दुई तारिखदेखि बेलायतमा छन् । ढल्कँदो उमेरमा सगरमाथा आरोहणको उद्देश्य, खर्च लगायत विषयमा मिनबहादुर शेरचनसँगको कुराकानी ।
फेरि सगरमाथा हिमाल चढ्ने तयारी गर्नुभएको हो ?
हो, हिमाल चढ्नकै लागि म गत अक्टोबर १ मा नेपालबाट यूके आएको हुँ ।
८६ वर्षको यो उमेरमा सगरमाथा चढ्ने सहास कहाँबाट आयो ?
उमेरले छेक्दैन । म आफ्नो निम्ति, बहादुरी देखाउन, कसैसँग प्रतिस्पर्धाका लागि पनि होइन । विश्व शान्तिका लागि, नेपालको गरिमामय अस्तित्व राख्नका लागि यो ८६ वर्षको उमेरमा सगरमाथा चढ्ने जमर्को गरेको छु । ममा आत्मविश्वास पनि छ ।
७७ वर्षको हुँदा सगरमाथाको सफल आरोहण गरेर इच्छा पूरा भयो होला नि ?
७७ वर्षको उमेरमा सन् २००८ मा म सगरमाथाको चुचुरोमा गएँ, त्यतिबेला सगरमाथा चुचुरो कस्तो छ, के छ भन्ने चढ्ने इच्छा, आकांक्षा मात्र थियो । चढ्नुअघि मैले के संकल्प गरेको थिएँ, आफूले केही नजाने पनि, ज्यानको कुनै प्रवाह नगरी कि मरेर जान्छु, कि चढेर आउँछु । ईश्वरको कृपाले सफल भएँ । फेरि चढ्ने जमर्को किनभन्दा सगरमाथा कस्तो रहेछ भन्ने, हिमालमा जाँदा कसरी जानुपर्छ, के गर्नुपर्छ भन्ने साधारण ज्ञान पनि हासिल भयो । त्यो अनुभव र विश्व शान्तिका लागि, नेपालको गौरवमय इतिहास राख्नको लागि गरेको हुँ । मलाई आत्मविश्वास छ, ईश्वरको कृपा पनि छ । त्यसकारण पूर्ण विश्वास के छ त भने चढेरै आउँछु अहिल्यै मरेर जान्न ।
सगरमाथा आरोहणका लागि कति खर्च आवश्यक पर्छ ?
पहिलो पटक सगरमाथा चढ्दा उतिबेलाको एजेन्टले ७० लाखमा कभर गरेको थियो । तर, अहिले एजेन्ट फरक छ । उसले ९ वर्षअघिको डकुमेन्टले काम गर्दैन, नयाँ थप्नुपर्छ भनेको छ । त्यतिबेला पाँचजना शेर्पामात्र थिए, अहिले त्यतिले पुग्दैन । दुई, तीनजना थप्नुपर्छ । त्यसकारण बजेट बढाउनुपर्छ भनेर एजेन्टले भनेको छ । तर, यत्ति नै भनेर किटान भने गरेको छैन । मेरो सल्लाहकारहरुका अनुसार घटीमा एक करोड चाहिन्छ भन्ने छ । केही समयपछि एकीन खर्च आउला ।
यत्रो रकम कसरी जुटाउनुहुन्छ, आफ्नै खर्च, नेपाल सरकार वा अन्य संघ संस्थाले दिन्छन् ?
यो आफंैले सक्ने कुरा होइन । यूरोप, अमेरिका, जापानजस्ता देशका आरोहीहरु पनि निजी खर्चमा जाँदैनन् । संस्थागत रुपमा गएका हुन्छन् । व्यक्ति, सरकारले पनि सहयोग गरेका हुन्छन् । अहिलेसम्म मैले सरकारबाट आर्थिक पाएको छैन । २००८ मा सगरमाथा जाँदा एउटै व्यक्तिले ५० हजार डलर सहयोग गरेको थियो । अहिले यूकेमा एनआरएनए, मोना लगायत सम्पूर्ण नेपाली दाजुभाइले सहयोग गर्ने आश्वासन पाएको छु । मलाई पूर्ण विश्वास छ, सगरमाथा आरोहणमा बजेट नपुग्ने, नहुने समस्या हुने छैन । कुरा बजेटकै हो, मेरो कारणले सगरमाथा आरोहण नहुने भन्ने हुन्न ।
चिकित्सकले तपाईंको स्वास्थ्य अवस्थाबारे कस्तो सल्लाह दिएका छन् ?
२००८ मा भन्दा पनि राम्रो महसुस गरेको छु, स्वास्थ्यको दृष्टिकोणले । वि.स. २०१६ मा धौवलागिरी हिमालको आरोहण सफल गराउँदा म नै थिएँ । मैले १९६० देखि हिमालको आरोहण गर्दै आएको छु । अहिले मेरो रक्तचाप पनि सन्तुलनमा छ । दम छँदै छैन । अहिलेसम्म उचाईंका कारण लेक लाग्ने भन्ने नै छैन । रोक्यो भने भूकम्पले जस्तै प्राकृतिक प्रकोपले हो, अरु केहीले रोक्न सक्ने छैन ।
हिमाल आरोहणको अभियान नेपालबाटै गर्दा हुनेमा किन बेलायत आउनुभयो भन्ने कतिपयको जिज्ञासा छ नि ?
म एक भूपू आर्मीको नाताले बेलायत आएको हुँ । अर्को नाता आप्रवासी अथवा एनआरएन, नेपालको उपसरकार जस्तो हो । यहाँका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीले सहयोग दिन्छन्, पाउँछु भन्ने आशा भरोषाले हो । नेपाल सरकारले पनि यसपटक सहयोग गर्छु भनेको छ । गर्लान् पनि । तर, मैले अभियान यूकेबाट सुरु गरेको हुनाले, यहाँ धेरैले दुःख पनि पाएका छन् । निजी खर्च पनि भएको छ । त्यसकारण मैरो कर्तव्य उनीहरुलाई पहिलो प्राथमिकता दिनु नै हो ।
यूकैबाटै तपाईंलाई चाहिने रकम उठ्ला ?
यो मेरोमात्रै अभियान होइन, हाम्रो अभियान हो । मिनबहादुर शेरचनको मात्रै सगरमाथा आरोहणको अभियान नभएकोले करोड त के करोडौं पनि उठ्न सक्छ । त्यो आफ्नो ठाउँमा छ । मलाई पूर्ण विश्वास छ, बजेटका कारण सगरमाथा आरोहण अभियान रोकिँदैन ।
भनेपछि नेपालले फेरि अर्को कीर्तिमान राख्दैछ ?
त्यसमा निर्धक्क रहँदा हुन्छ । सगरमाथा अभियान मेरो व्यक्तिगत रुपमा सानो कुरा हो । आरोहण सफल भइसकेपछि मेरो अपेक्षा हुनेछ, आर्थिक होइन, अन्य नैतिक सहयोग लगायतका विषयमा धारणाबाहिक रुपमा एभरेष्ट टाइम्स लगायत विभिन्न सञ्चारमाध्यमबाटै दिनेछु ।
हिमाल चढ्छु भन्ने सोंच तपाईंमा कहिलेदेखि पलाउन थाल्यो ?
वि.सं. २०१६ मा धौवलागिरी आरोहण गर्ने मेरो इच्छा थिएन । तर सातौं पटकसम्म विश्वका आरोहीहरुले नै धौवलागिरी आरोहण गर्न सकेनन् । त्यसबेला नेपाली कांग्रेसका स्व.विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकार हुँदा मैले उहाँलाई भने सबैभन्दा पहिले सगरमाथा चढ्ने पनि नेपाली, धेरै पटक चढ्ने पनि नेपाली, धौवलागिरी अरुले चढ्न नसकेकोमा नेपालीले नै चढ्नुपर्छ भनेँ । तर मसँग टे्निङ थिएन, जनरल नलेजका लागि जानपुर्यो, के छ सरकारबाट व्यवस्था ? आठौं पटकको दलमा मलाई पनि पठाउनुपर्यो भनेपछि त्यतिबेलाका प्रधानमन्त्री बीपी कोइरालाले मलाई पठाउनुभयो । पठाएपछि मलाई सबै थाहा भो । तर त्यो सालमा पनि धौवलागिरी कसैले नचढोस् भन्ने मेरो भित्री मनमा लागिरहेको थियो । मेरो विचारमा १६ सालमा अनुभव बटुल्छु, ०१७/१८ सालमा नेपालीलाई नै बटुलेर नेपालीले नै धौवलागिरी चढ्छौं भन्ने आशा थियो । तर, त्यो पूरा हुन सकेन । किनभने आठौं पटकको आठजनाको दलनै सफल भए । म चढाउन सफल भएँ । म चढ्ने अभियानमै थिएन । त्यसपछि मैले हिमालको नामसमेत नकारेर बसिरहेको थिएँ ।
जब म ७२ वर्ष पुगेपछि मानिस भएपछि केही न केही गरेर छोड्नुपर्छ भन्ने इच्छा, आकांक्षा जाग्यो । कविता, कथा लेखौं भने आफूमा त्यो ज्ञान थिएन, शिक्षादीक्षा पनि पाएको छैन । के गर्ने त भन्दाभन्दै फेरि सगरमाथा चढ्ने योजना बन्यो । नेपालमा सबै हिसाबले सगरमाथा चढ्ने भए पनि वृद्ध उमेरमा चढ्ने कोही थिएनन् । मैले वृद्ध उमेरमा सगरमाथा चढ्ने रेकर्ड राख्न अभियान चलाएँ । घोषणा गरेँ । तर, सक्छु कि सक्दिनँ भनेर जाँच्नु पर्यो । त्यसकारण मैले काठमाडौंबाट पोखरा २ सय किलोमिटर जेठको गर्मीमा चार दिनमा पैदलयात्रा गरेँ । सफल भएँ । त्यसपछि चिन र भारतको सीमानामा फेरि पैदलयात्रा गरेँ । जुन नौ दिनमा सफल भयो । त्यसपछि फेरि पूर्व–मेचीदेखि पश्चिम महाकालीसम्म १ हजार २८ किलोमिटर पैदलयात्रामार्फत् २० दिनमा सफल पारेँ । जुन कार्यबाट ममा आत्मविश्वास जाग्यो, म सक्छु हिमाल चढ्न भनेर । नभन्द ७७ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरेँ ।
८६ वर्षको उमेरमा सगरमाथा चढ्ने जोश आउनुमा तपाईंको जीवनशैली कस्तो छ भन्ने कतिपयलाई चासो छ, के भन्नुहुन्छ ?
वृद्ध उमेरले छेक्दै, छेक्दैन । खानपिनको हकमा चिल्लोपदार्थ धेरै खानुहुँदैन । चामलको बदलामा गहुँ, मकै, कोदो र फापरजस्ता खाद्यान्न प्रयोग गर्नुपर्छ, मेरो आहार नै त्यही हो । मोटो मासु धेर नखाने, फलफूल, दूध खाने । कुनै खालको अल्कोहल चिज छुँदै नछुने । चुरोट, तमाखुजस्ताको नामै नलिने । मेरो आदत यो छ ।
खाएर, लाएरमात्रै हुँदैन, सबैभन्दा ठूलो कुरा मान्छेको आयु, बुद्धि, विवेक बढ्ने कुरा सोंच हो । आत्मलाई शुद्ध राख्नुपर्छ, खुल्ला राख्नुपर्छ । चट्ट काट्न आउने दुश्मनै छ भने पनि त्यसलाई दुश्मन नसम्झिने, त्यसपछि आफै मित्र हुँदै जान्छ । त्यसकारण आयु बढ्ने, स्वस्थ बन्ने खुराक पवित्रता हो । म सबैलाई आह्वान गर्न चाहन्छु, कसैप्रति वैरभाव, दुश्मनी नराख्नुस्, शुद्ध बन्नोस् । यस्तो सोंचले नआएको बुद्धि आउँछ, आफूले अठोट गरेको कुरा पूरा हुन्छ ।
मान्छे कोही धन कमाउन, कोहीले जागिर खाने अठोट राखेका हुन्छन्, जे गरे पनि त्यसमा निजी स्वार्थ राख्नुहुन्न । कर्मचारी बनेर भ्रष्टाचार गर्नहुन्न, भ्रष्टाचार गरेर कमाएको धनको के अर्थ । शुद्ध नियम, कानुनअन्तर्गत अगाडि बढेपछि जागिरमा पनि राम्रो हुन्छ, प्रमोसन हुन्छ, त्यसो भएपछि पैसा आइहाल्छ ।
अन्तिममा केही भन्नुहुन्छ ?
हाम्रो सगरमाथा आरोहणको अभियानमा सहयोग गर्नेले त गर्छन् नै । विश्वका सबै व्यक्ति, संघ संस्थाले सहयोग गर्न नपाएकोमा पछि पश्चताप नहोउन् । मेरो उमेरमा आरोहण गर्ने कोही छैन भदिन्नँ । मैले विश्व शान्तिका लागि आरोहण गर्न लागेको हुँ । यो मेरो घमण्ड नठानोस् । व्यक्तिगत नभई नेपाल राष्ट्रको लागि मेरो अभियान । कुनै नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई पश्चताप नहोस् । टेलिभिजन, पत्रपत्रिकाबाट प्रचारप्रसार भइसक्यो, भइरहेको छ । व्यक्ति व्यक्तिबाट पनि थाहा पाइसक्नु भयो होला । जसलाई सहयोग गर्ने इच्छा छ, गच्छेअनुसारको सहयोग गर्न अपिल गर्छु ।
(एभरेष्ट टाईम्सबाट साभार)