तीन दिन भो काम र कलेजमा लगातार जोतिईरहेको, मस्तसँग अघाउन्ज्ल सुत्नुपर्ने। कोठा पनि कस्तो लथालिंग। बबिता र माया काममा निस्किसकेछन् । मनमनै अनेकन कुरा खेलाउदै केठामा पसी ऊ । खाना खान पनि मन लागेन। त्यसै हुत्याइदिई आफूलाई असरल्ल परेको बेडमा ।
सिन्धुपाल्चोकबाट बिद्यार्थी भिसामा जापान आइपुगेको ६ महिना भयो। घरमा ३ बर्षकी छोरी र घाइते श्रीमान छन्। महभुकम्पमा घर भत्किदा श्रीमान अंगभंग भए। आफू भने सुत्केरी बस्न तराइ गएकीले केही भोग्न परेन भुकम्प। तर भुकम्पको धक्का भन्दा त्यसपछिको जिन्दगीको धक्काले भने सरितालाई नराम्रो सँग धक्याईदियो। त्यही भुकाम्पको धक्काले टोक्योसम्म हुत्याइदियो।
बेडमा पल्टेर अनेक कुरा घोत्लिन थाली उसले।
बडो दुखले ऋण खोजेर आएकी यहा। कन्सल्टेन्सीले रूखमा फलेको पैशा टिप्न पठायो । तर अझै त्यो रूख भेटिएको छैन। भुकम्पले घर भत्काएसंगै पतिको पनि खुट्टा लग्यो। घरको र जीवनको, दुबै खम्बा एकैपटक भत्किए। घरको मात्रै खम्बा त उसले जोड्दी हो पनि जसोतसो तर जीवनकै खम्बा ढल्यो र पनि हिम्मत चाहिँ हारिन उसले। सरकारले केही अनुदान र राहतको चारो त छर्यो एक बर्षपछि तर त्यो पहाडको अगाडि तिल मात्रै भयो। आवश्यकता,अभाव र पीडाले ठुलै गुफा बनाइसकेको बेलामा सरकारी राहत हात्तीको मुखमा जिरै। त्यै पनि मन्त्री र भाइभारदारले नलगेर छोडेको।
फोनको घन्टीले झस्किई ऊ। नेपालबाट रैछ। जिन्दगीको। उठाई। छोरीको तोते बोलीमात्र सुनिरही, "मामु आऊ मामु आऊ"। ऊ बोल्न त खोजी तर बोली नै खुलेन। खै घाटीमा के बस्यो बोली नै रोकिदियो। आशुसँग त्यै बचेको याद निल्दै छोरीलाई सुनिरही। मातृत्व यसरी दुख्यो कि हजार सूर्यले एकैचोटि दाबे। दिनहरू यस्तै नै बितिरहेका छन् प्राय।
जापान- महंगो देश। महंगो जीवनशैली। पैशा बोटबाटै टिप्न सकिने सपना।त्यो घरपरिवारको आवश्यकता, घाइते जिन्दगी अनि आउदा लागेको ऋण।
एक एक नाचिरहन्छन् हरेक दिन।
नियमले हप्तामा अट्ठाइस् घन्टा भन्दा नदिने तर त्यो कामको पैशाले स्कुल फिस मात्रै ठिक्क हुने। अर्को छुट्टै काम नगरी यहा बस्नुको अर्थ नै रहेन तर ऊ अहिले सम्म एउटा मात्रै काम गरिरहेकी छे। त्यो पनि आएको तीन महिनापछि मात्र सुरू गरेकी। आफै खोज्नु, भाषाले सकिदैन। खोज्न अनेक प्रयास पनि नगरेकी कहा होर? सपना देखाउने साथीहरूले देखाएको सपनाको पनि लाभ चाहन्छन्। आएदेखि पैसा नै पठाउन सकेकी छैन।हरेक दिन बढेको बढ्यै छ ऋणको ब्याज। घरको आबश्यकता पनि बढेको बढ्यै छ। फेरि अर्को तिर फर्केर आशु पुछी । सम्हालेजस्तै गरी तर फेरी सप्ततोशी नै खन्याई। ऊ प्राय एक्लै रुन्छे। साथीहरूलाई देखाउदैन आशु,देखाएर पनि त अर्थ छैन। फुर्सद पनि त कहा छ र उनीहरूलाई। साथीहरू निकै बिजी छन्।
कलेजका सिनियरहरू, साथीका साथी, साथीका दाइ दिदी सबैबाट मात्रै आश्वासनका पोका र स्वार्थ लुट्ने बाहानाबाहेक के पो देखियो र। धेरै आश्वासन दिदै पन्छिए। केहीले काम खोजिदिए बापत उसको जवानी चाहे। पटक पटक उसको जवानीमा आखा लगाइरहे अवसरबादीहरूले। हेर्दा पनि त निकै सुन्दर थिई। चटक्क परेको जिउडाल। कसिलो शरीर। समुद्री आखा। भमरा लोभिन खोज्नु स्वाभाविकै थियो तर धेरैले उसको कमजोरीमा सिमा मिच्नै खोजे।जवानी सुम्पे राम्रो पैशा आउने काम लगाइदिने कुराले ब्ल्याकमेलिङ धेरै भए। अझै ती कल आइरहन्छन्। तर ऊ आफ्नो स्वाभिमानप्रति समुद्र झै अडिग बनी।
पतिब्रता ऊ, आजसम्म आफ्नो पति बाहेकको अंगालो सोच्न पनि सक्दिन। मुटुमा धड्किरहेको धड्कनलाई आफ्नो पति को माया सम्झेर बिश्वासको सागरमा छे ऊ। कदापी धोका दिन सक्दिन। कस्तो बिलखबन्द जिन्दगी । चारैतिरबाट सिंहले हेरिरहेको मृग जस्तै।
न बाच्न सकियो अर्थले न त मर्न दिन्छ कर्मले। छट्पटी धेरै बढ्यो। पसिनाले भिज्यो पुरै शरीर। आखा एकोहोरिए मात्र। एकैक्षणमा जिन्दगी सबै बिर्सिई। अचानक आखामा शून्यता छायो । केबल मृत्यु बाहेकको बाटो नै नभएको शून्यता । लगातार भगवानलाई पुकारीरही। पुकारीरही। मुट्ठी कसी र छेउको सल छोपेर सिलिङतिर आखा दौडाई। घाटीमा सल बानेर जुरूक्क उठी।
सन्नाटालाई चिर्दै अचानक फोन बज्यो। झस्किई। नेपालको फोन। छोरी। जिन्दगी । पति। ह्वारह्वार सबै नाच्यो दिमागमा। एउटा पाइला मृत्युमा र अर्को पाइला जिन्दगीमा अड्कियो। दुबै खुट्टालाई तानातान गरे जीवन र मृत्युले - मछिन्द्रनाथको जात्रा जस्तै। र फेरि एकचोटि जिन्दगीले जित्यो मृत्युलाई । छोरीको यादले उसलाई मर्न दिएन। पतिको बिश्वासले उसलाई छेक्यो। ऊ रोकिई। जिन्दगीले कैलेकाहि कस्तो मोडमा लगेर रोकिदिन्छ। कस्तो परीक्षा लिन्छ यो समय। उप्फ..!!
थचक्क बसेर फोन उठाई।
फोन छोरीको थिएन। पतिको पनि थिएन। कलेजकै एकजना सिनियर (सेन्पाइ) को थियो। ऊ केही बोलिन। सुनिरही एकोहोरो। भत्किएको घर र जिन्दगी सम्झी। घाइते पति सम्झी। प्यारको स्वरूप छोरी सम्झी र ऋण ब्याज पनि सम्झी अन्त्यमा। घाटीको सल फुकाइ अनि उठेर बिस्तारै बाध्यताका पाइला अगाडि बढाई।
© शरद पोख्रेल
हाल जापान