परम्पराको आडमा महिला हिंसा

Everest Fuji News २०७३ फाल्गुन २७ मा प्रकाशित       Published at 2017 Mar 10


- अमृता अनमोल

माघ अन्तिम साता बोक्सी आरोपमा रूपन्देहीको सूर्यपुरा–७ क्षेत्रपुरामा आमाछोरी कुटिए । मानसिक रोगी छिमेकी चनमती लोधलाई ‘भेदेको’ आरोपमा मालती र उनकी छोरी आरती केवटमाथि कुटपिट भएको हो । पत्रकार र अधिकारकर्मीको पहलमा घटनाको साता दिनपछि कुटपिटमा संलग्न रामवचन लोध र विनोद लोधलाई प्रहरीले पक्राउ गर्‍यो । चनमती रामवचनकी पत्नी हुन् भने विनोदकी दिदी । बेलाबेला काँप्ने पोखरभिन्डी १ की बच्ची यादवलाई आफन्तले बोक्सी आरोपमा कुटपिट गरे । तातो पन्यूले शरीर डाम्दा उनी बेहोस् भइन् । छिमेकीले उजुरी हाल्ने बताएपछि उनीहरूले घरभित्रको समस्या भन्दै थामथुम पारे । घटनाबारे बच्ची अहिले पनि बोल्न मान्दिनन् । तर, उनीमाथि हिंसा जारी रहेको छिमेकी बताउँछन् । कानुनले बन्देज गरे पनि धार्मिक तथा सामाजिक अन्धविश्वासका आधारमा महिलामाथि हुने हिंसा उस्तै छ । कुरीतिविरुद्धको राष्ट्रिय सञ्जालका अनुसार मुलुकमा विधवा प्रथा, बालविवाह, बहुविवाह, किरियापुत्री, कन्यादान, दाइजो, तिलक, छुई प्रथा, घुम्टो, झुमा, तलाक, बेलविवाह, कुमारी, बोक्सीलगायत कुसंस्कारले महिलामाथि हिंसा बढाएको छ । बहुविवाह, कुमारी, लोकन्ती, बेलविवाह, गुफा राख्ने, महिनाबारीमा छुई बार्ने, छुवाछूत प्रथा पनि हिंसा बढाउने कारण हुन् । यस्तै परम्पराको सिकार भइन्, सालझन्डीकी सरस्वती चौधरी । लामागुरुले सौता ल्याए निको हुन्छ भन्ने आश्वासन दिएपछि गत मंसिरमा उनी पति हंसराजको दोस्रो बिहे गराउन राजी भइन् । बेलाबेला मूच्र्छा पर्ने समस्या देखिएकी उनलाई सौता आए पनि सन्चो भने भएन । बरु उपचार गर्न नसक्ने भन्दै पति र सौता मिलेर उनलाई माइतीघर सिपवाको पतिजिया पठाइदिए । माइतीले घर लैजान वा केही सम्पत्ति दिलाउन कोसिस गरे पनि अहिलेसम्म टुंगो नलागेको सरस्वतीले गुनासो गरिन् । अन्धविश्वासको मारमा अबोध बालिका पनि छन् । गाउँलेले महिनाबारी नहुँदै छोरीको बिहे गरेर जल खाए छोरा जन्मने बताएपछि बयरघाट २ का रुदल धवल नाबालकमै छोरीहरूको बिहे गराउन तयार भए । उनले ४ छोरीको ९, ११ र १३ वर्षमा बिहे गराइदिए । यसो गर्दा पनि छोरा भने जन्मिएन । बरु रोगले थलिएका बाबुको कान्छी छोरीको बिहेलगत्तै मृत्यु भयो । १ लाख २५ हजारमा जग्गा बेचेर बिहे गराएकी कान्छी छोरी बबितालाई पतिले माइतै फर्काइदिए । बालविवाहविरुद्ध कार्यरत सिद्धार्थ सामुदायिक संस्थाका सामाजिक परिचालकले बबितालाई घर पठाउन कोसिस गरे पनि सफल हुन सकेका छैनन् । ‘सानै छे भनेर ज्वाइँले फर्काए । २ वर्ष भयो लैजान मान्दैनन्,’ आमा बच्चीले दु:ख पोखिन्, ‘अन्धविश्वासले गर्दा छोरीको जिन्दगी बर्बाद भयो । पतिलाई पनि गुमाएँ ।’ विपन्न र ग्रामीण भेगमा मात्रै होइन सहर र सम्पन्न समुदायमै पनि अन्धविश्वासको आडमा महिला र बालिकामाथि हिंसा हुने गरेको छ । बेललाई पति मानेर अबोध बालिकालाई विवाह गरिदिने चलन अर्को हिंसा हो । बेल फुटे विधवाको भेषमा बस्नुपर्ने बाध्यताले नेवार सम्प्रदायका महिला प्रताडित छन् । नेवा पुच बुटवलले करिब १२ वर्षयता बुटवलमा सामूहिक बेलविवाह गराउँदै आएको छ । १२ वर्षको उमेरमा गुफा बसेकी शिक्षक सिर्जना श्रेष्ठ भन्छिन्, ‘परम्परा नै भएकाले विरोध गर्न सक्दैनौं तर गुफा बस्दा निकै हीनताबोध हुन्छ ।’ मुख देखाएर हिँडे अलच्छिन हुने अन्धविश्वासका कारण घुम्टोभित्र गुम्सिन बाध्य छन् तराईका महिला । मुस्लिम समुदायमा बुर्का प्रथा छ । नयाँ बुहारी मुख छोपेर हिँड्दा धेरैपटक लड्छन् । गर्मीमा एलर्जी र घमौराले घाउ हुन्छ तैपनि समुदायले महिलालाई मुख देखाएर हिँड्न छुट दिँदैन । ‘आफ्नी बुहारी र पत्नीमाथि कसैले नजर नलगाऊन् भनेर थालिएको घुम्टो प्रथा अन्धविश्वास हो,’ मधेसी महिलाको अधिकारका लागि कार्यरत वृन्दावती चौधरी भन्छिन्, ‘तर, संस्कारकै रूपमा रहेकाले गाउँघरमा कसैले इन्कार गर्न सक्दैन ।’ जिल्ला प्रहरीका अनुसार अन्धविश्वास र कुरीतिका कारण महिलामाथि हुने हिंसाका थोरै मात्रै घटना कार्यालयमा आउँछन् । यस वर्ष बोक्सीसम्बन्धी आरोपको एउटा मात्रै उजुरी दर्ता भएको छ । बालविवाहविरुद्ध ५ वटा उजुरी छन् । जबर्जस्ती करणी, दाइजो, तिलक, अनमेल विवाह, विधवालगायत प्रथाजन्य समस्याका कारण हिंसा भएका ६० उजुरी आएकोमा तिनमा घरेलु हिंसा दाबी गरिएको छ । प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख लक्ष्मण विक कुरीति तथा कुप्रथाविरुद्ध कानुन नरम भएकाले धेरैजसो उजुरी घरेलु हिंसा वा महिला हिंसाविरुद्ध दर्ता भएको बताउँछन् । ‘कानुन नरम भएकैले अन्धविश्वास, कुसंस्कार र कुरीतिजन्य घटनामा उजुरी सीधै आउँदैनन्,’ उनले भने, ‘अनुसन्धान गर्दै जाँदा कुरीति, कुसंस्कार र अन्धविश्वासका कारण हिंसा भएको थाहा हुन्छ ।’


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.