आम नेपाली श्रमजीवी पत्रकारको गौरवमयी छाता संगठन– नेपाल पत्रकार महासंघले पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा यसले विगतमा निर्वाह गरेको संघर्ष र भूमिका अतुलनीय रहिआएको छ । २००८ सालमा सत्यनारायण बहादुर श्रेष्ठको अध्यक्षतामा स्थापित तथा २०१२ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पुनर्गठित महासंघले स्थापनाका ६५ वर्ष पूरा गरेको छ । आगामी २०७४ वैशाख २१ गते तदनुरुप २०१७ मे ३ का दिन यसको २५ औँ राष्ट्रिय महाधिवेशन हुन गइरहेको सर्वविदितै छ । हाल महासंघमा १०,०७७ (पुराना) र १,६०० नयाँ सदस्यको नेतृत्व गरी ४३ सदस्यीय केन्द्रीय कार्यसमिति कार्यरत छ । नेपाली श्रमजीवी पत्रकारहरुको हितमा महासंघलाई अझ बढी जनपक्षीय, व्यवसायिक र श्रमजीवी पक्षीय संस्थाका रुपमा संचालन र नेतृत्व निर्माण गरी अघि बढ्न आवश्यक छ ।
६० वर्ष (छ दशक) लामो निरन्तर नेतृत्वको स्थितिलाई तोडेर विगत ६ वर्षदेखि व्यवसायिक र जनपक्षीय पत्रकारहरुको गठबन्धनले पत्रकार महासंघको नेतृत्व गरिरहेका छौं । यसमा सबै विचार, विधा र क्षेत्रका पत्रकारहरुले सामूहिक रुपमा भूमिका खेल्दै अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपाली पत्रकारहरुको प्रतिष्ठा, गरिमा र हैसियत अझ बढाउन जरुरी भएको छ ।
१. पहिले जस्ताको छाप्रोबाट सञ्चालन हुँदै आएको महासंघ हाम्रो साझा प्रयासबाट करिब चार करोड रुपियाँको लागतमा अत्याधुनिक, भूकम्पप्रतिरोधी र भव्य ‘केन्द्रीय पत्रकार भवन’बाट सञ्चालित छ । महासंघले उपहारस्वरुप संस्थागत स्वामित्वमा गाडीसमेत प्राप्त गरेको विदितै छ । भौतिक हिसावले महासंघको संस्थागत विकासमा यो उल्लेखनीय उपलब्धी हो ।
२. आमसञ्चार नीति– २०७३ तर्जुमा भएर कार्यान्वयनको चरणमा छ । आमसञ्चार प्रशिक्षण प्रतिष्ठान र पत्रकारिता अध्ययन संग्रहालय आदि निर्माणका लागि आवश्यक नीति, कानून र संरचनागत निर्णय भएर कार्यान्वयनको पर्खाइमा छन् । यसमा सञ्चारसम्बद्ध सम्पूर्ण संगठनलाई एकताबद्ध गरी अझ विश्वसनीय सहकार्यको प्रक्रियामा अघि बढाउने सिलसिला जारी छ ।
३. हाल पत्रकार कल्याण कोषमा १ करोड ६० लाख र आपतकालीन राहत कोषमा ३० लाख रुपियाँ जम्मा छ ।
४. विभिन्न पुरस्कारहरुको अक्षयकोषमा ११ लाख ५० हजार रुपियाँ जम्मा छ ।
५. पत्रकार दुर्घटना बीमा कार्यक्रमअन्तर्गत करिब दुई हजार पत्रकारहरुको ‘दुर्घटना बीमा’ गरिएको छ ।
६. पत्रकार र आश्रित परिवारको उपचार कार्यमा करिब ४५ लाख खर्च भएको छ । यस अवधिमा १२५–१३० जना पत्रकारलाई (श्रीलाल साह (१ लाख १६ हजार, सञ्जय न्यौपाने (१२ लाख) र कर्ण बोहराको परिवार (१६ लाख ५० हजार) रुपियाँसम्म) उपचार सहयोग संकलन गरी उपलब्ध गराइएको छ । साथै पत्रकारहरुलाई उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
७. दिवंगत पत्रकारहरुका सन्ततिका लागि ‘पत्रकार सन्तति शैक्षिक वृत्ति’ उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । यस कार्यक्रमअन्तर्गत वीरबहादुर शाही (जाजरकोट)लगायत चारजना पत्रकारका सन्ततिलाई छात्रवृत्ति उपलब्ध गराउने निर्णय भएको छ ।
८. ‘ज्येष्ठ पत्रकार सम्मान’ कार्यक्रम अन्तर्गत ६५ वर्ष उमेर पुगेका तथा ३० वर्ष पत्रकारिता गरेका ३० जना अग्रज पत्रकारलाई बार्षिक १२ हजार रुपियाँ ‘जीवनवृत्ति’ उपलब्ध गराइएको छ । यसलाई दोब्बर पार्ने योजना छ ।
९. विनाशकारी भूकम्पमा ज्यान गुमाउने र घाइते भएका पत्रकार एवम् तिनका आफन्तजनलाई क्रमशः २५ र १५ हजार रुपियाँका दरले तत्कालिक राहत उपलब्ध गराइएको छ । खासगरी, उद्धार र राहत (त्रिपाल, ब्याट्री र व्याकअप जस्ता सामग्री) उपलब्ध गराउन करिब १५ लाख रुपियाँ खर्चिएको छ ।
१०. मध्य र पूर्वी तराईका ५०० जना पत्रकारहरुलाई ‘सूचनाको हक र खोज पत्रकारिता’ तालिम उपलब्ध गराइएको छ । साथै, ८५ जनाभन्दा बढी पत्रकारले विभिन्न फेलोसीप प्राप्त गरेका छन् ।
११. विभिन्न पत्रिका, रेडियो र सञ्चारकर्मी समेत ९० भन्दा बढीलाई शिक्षालगायत विभिन्न पुरस्कारहरु प्रदान गरिएको छ ।
१२. श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन सञ्चारगृहमै पुगेर धर्नासमेत दिई दबाबमुलक कार्यक्रम सञ्चालन एवम् नेतृत्व प्रदान गरिएको छ । यसबाट महासंघको श्रमजीवी पक्षधरता अझ चहकिलो बनेको छ ।
यी उपलब्धिहरुलाई निरन्तरता दिन जिल्ला, प्रतिष्ठान, एसोसिएट र प्रवास सबैतिर विगतमा जस्तै :-
एकजुट भएर सही नेतृत्व स्थापित गरौँ !
व्यावसायिक पत्रकारहरुको हितमा अझ एकताबद्ध भएर अघि बढौँ!
प्रस्तुति: चन्द्र खनाल ( जापान )