काठमाडौं/
देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव र बङगालको खाडीका साथैअरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण देशभरको मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भागका केही स्थानमा र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिनमा उल्लेख छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेसलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भागका केही स्थानमा हुरीबतासको समेत सम्भावना रहेको जनाईएको छ ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने अनुमान महाशाखाले गरेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भागका केही स्थानमा र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेसलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भागका केही स्थानमा हुरीबतासको पनि सम्भानवा रहेको महाशाखाले जनाएको छ ।।