मुस्ताङ ।
मुस्ताहिमालपारीको जिल्ला तिब्बतसँग जोडिएको यो जिल्ला भौगोलिक हिसाबले पठार होइन भने पनि यसको चरित्र पठारकै जस्तो छ । जलवायुका हिसाबले यतिबेला चिसो बढ्दैछ जोमसोममा । बिहान कठ्याङ्ग्रिने जाडो, दिउँसो नरम हुँदै गएको घाम र राति निकै चिसो ।
अहिले मुस्ताङमा नेपाली पर्यटक ओइरिएका छन् । यति धेरै मानिस कहिल्यै आएका थिएनन् यहाँ । दर्शनार्थीहरूमा धेरै टिनएजर छन् । उनीहरू बाइकमा आ–आफ्ना पार्टनर लिएर आएका छन् । एउटा त धर्मकै कुरा भयो, अर्को एड्भेन्चर पनि भयो । जोमसोमका होटल तथा लज खचाखच छन् । खानाको बिक्री उच्चतम बिन्दुमा पुगेको छ । होटलवालाहरूलाई भ्याइनभ्याइ छ । मानिसको आवागमन कम भएको छैन । सिजन सकिन अझै एक महिनाबाँकी छ । नोभेम्बरको अन्त्यतिर मुस्ताङ्गीहरू तल झरिसकेका हुन्छन् । जोमसोम खाली हुन्छ मार्चसम्म । अहिले सामान्य समयमा पनि जोमसोम खाली नै छ । यहाँका स्थानीय बासिन्दाहरू होटल सञ्चालक नै छन् । अरू सबै यहाँबाट हिँडिसके । यसपछि यहाँको अर्को जनसंख्या भनेको सरकारी कर्मचारीको हो । उनीहरूले जोमसोमलाई आवाद गरेका छन् ।
कागवेनी र मुक्तिनाथजस्ता तीर्थस्थलले मुस्ताङको आकर्षण बढाएको छ । दुनियाँभरका हिन्दू एकपटक कागवेनीमा आफ्ना अग्रजहरूको सम्झना गर्दै मुक्तिनाथको दर्शन गर्न चाहन्छन् । बाबा मुक्तिनाथको पूजाका लागि अहिले तमिलनाडुका भारतीयहरू पनि ओइरिएका छन् । उनीहरूका मुख्यमन्त्री जयललिताको स्वास्थ्यलाभको कामना गर्दै बाबा मुक्तिनाथको पूजा अर्चनाका लागि आइपुगेका छन् ।