काठमाडौं /
विपद प्रतिकार्य हवाई उद्वारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायु सेवा सञ्चालक संघ र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच सम्झौता भएको छ ।
मंगलबार गृहमन्त्रालयमा वायु सेवा सञ्चालक संघ र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच सम्झौता भएको गृहमन्त्रालयले जनाएको छ । सो सम्झदारी पत्र हस्ताक्षर कार्यक्रममा गृहमन्त्री रमेश लेखकले वायु सेवा सञ्चालक संघले गरेको सहयोगले विपदका बेला आम नागरिकको जनधनको क्षति न्यूनीकरण गर्न महत्वपुर्ण योगदान पुग्ने बताउनु भएको छ । उहाँले मनसुन जन्य विपदका बेला नेपाली सेनाले उद्वारका लागि प्रयोग गर्ने हेलिकप्टरको उपलब्धता नभएको बेला यसले थप मद्धत पुग्ने समेत बताउनु भएको छ । उहाँले नागरिकको उद्वारका लागि निशुल्क हेलिकप्टर उपलब्ध गराउन संघसँग थप समन्वय गर्ने पनि प्रतिबद्वता जनाउनु भएको छ । उहाँले मनसुनजन्य विपद प्रतिकार्य तथा पूर्वतयारीका लागि नेपाली सेना, सशस्त्र प्रहरी खोज तथा उद्धारका निरन्तर लागिरहेको समेत बताउनुभएको छ ।
वायु सेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले विगतको भुकम्प, कोभिडको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको बताउँदै मनसुनको बेलामा कुनै पनि विपद आइपरेमा सम्झौता अनुसार हवाई उद्वारका लागि तयारी अवस्थामा रहने बताउनुभएको छ ।