राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा अनुसन्धान गर्न अदालतले आदेश दिएको भोलिपल्टै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई विदेश जान किन दिएको भनेर प्रश्न गरेका छन्।
त्यही प्रकरणमा बहालवाला सचिवलाई जहाजबाट कठालो समातेर ल्याइएको भन्दै लामिछानेले पूर्वप्रधानमन्त्रीलाई विदेश जान दिनु विभेद भएको बताएका छन्।
‘अदालतको आदेशै चाहिँदैनथ्यो, अनुसन्धान गर्न! तर, अदालतले दियो,’ मंगलबारको प्रतिनिधि सभाको बैठकमा लामिछानेले भने, ‘बहालवाला सचिवलाई जहाजको सिटबाट कठालोमा समातेर ल्याइन्छ। देशका पूर्वप्रधानमन्त्रीलाई अदालतले अनुसन्धान गर्नु भनेको भोलिपल्ट नै विदेश जान दिइन्छ। एउटै केसमा यो विभेद किन भयो?’
इलेक्ट्रिक चुरोटमा सुन ल्याएको विषयमा माओवादीका नेताको नाम जोडिँदा प्रहरीले अनुसन्धान नै गर्न डराएको उनले बताए।
प्रहरीले त्यस प्रकरणमा मिडियाबाट सूचना चुहाएर ट्रायल गरेको तर अनुसन्धान गर्न डराएकोसमेत बताए।
इलेक्ट्रिक चुरोटभित्र करिब ९ किलो सुन ल्याएको प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम मुछिएको थियो। तर, प्रहरीले उनीहरूमाथि अनुसन्धान नगरेकोतर्फ लामिछानेले प्रश्न लक्षित गरेका हुन्।