पृथ्वीनारायण
उसले मधेश, पहाड र हिमाललाई
एउटै किल्ला बनायो
जुन माटोमा गर्वका साथ उभिएर
आज तिमी सत्ता राजनीति गरिरहेछौ,
हो,
सिमानाबाट भित्रिने बैरीहरूलाई
उसले लखेटेकै हो
जुन सिमानाबाट
आज तिमीले देशद्रोहीहरू भित्राइरहेछौ ।
उसले साझा फूलबारी बनाएकै हो
जून फूलबारीमा उभिएर
आज तिमीले विभाजन कोरिरहेछौ,
उसले एकिकरण र एकताको कुरा गरेकै हो
जुन सत्यलाई चिर्दै
आज तिमीले खण्डित र विभाजित गर्ने प्रपञ्च रचिरहेछौ,
उसले बैरीहरूको थिर काटेकै हो
जुन बैरीका सामु
आज तिमीले शिर निहुँराइरहेछौ,
उसले स्वाधिनता र स्वाभिमानको कुरा गरेकै हो
जून गौरवलाई टेकेर
आज तिमीले परतन्त्र र कायर कुरा गरिरहेछौ,
उसले आमजनतालाई आत्मनिर्भर बनाएकै हो
जुन जनतालाई
आज तिमीले अभावै अभावमा राखेका छौ,
उसले शिर उठाउन सिकाएकै हो
जुन स्वाभिमानलाई
आज तिमीले शिर झुक्याउने बनाएका छौ ।
हो,
टुक्रा–टुक्रा राज्यलाई जोडेर
उसले साम्रायवादी शैलीमा
यो देशको निर्णय गरेकै हो,
हो,
स–साना अस्तित्वलाई समाप्त गरेर
सिङ्गो देशको अस्तित्वलाई बनाएकै हो
तिमीले भनेजस्तै ऊ साम्राराज्यवादी हो
तिमीले भनेजस्तै ऊ निरंकुश हो ।
यति बेला उसको कुरा छोडेर
तिम्राबारे कुरा गरौं
आज तिमी के गरिरहेछौ ?
देशलाई उधोगतिमा लाँदैछौ
देशको अस्तित्व समाप्त गरिरहेछौ
आफू बाँचेका छौ आमजनता मारिरहेछौ
देशलाई स्वार्थमा अनुवाद गरिरहेछौ ।
प्रस्तुती: राधेश्याम लेकाली
(अन्तरराष्ट्रिय साहित्य समाज, केन्द्रिय उपाध्यक्ष )