कविता वाचन गर्दागर्दै कवि आचार्यको निधन (कविता सहित)
Everest Fuji News२०७३ कार्तिक ७ मा प्रकाशितPublished at 2016 Oct 23
कार्तिक ६, काठमाडौं – झण्डै डेढ दर्जन साहित्यिक कृतिका स्रष्टा नेत्रमणि आचार्यको आज सबैका लागि अचम्भित हुने गरी उदाहरणीय सक्रियताकै वीच सम्झना रहने प्रकारको निधन भएको छ । ८७ वर्षको उमेरमा पनि अत्यन्त सक्रियताका साथ आफ्नो कर्ममा जुधिरहनु भएका कवि आचार्यको आजै बिहान एउटा कविता लेखेर सोही कविता एक कार्यक्रममा वाचन गर्दा गर्दै निधन भएको हो।
शनिवार बिहान कविता वाचन गर्दै स्व. कवि आचार्य ।
कार्यक्रम थियो झण्डै ३१ वर्षदेखि मासिक रूपमा निरन्तर जारी रहेको कविता वाचन तथा अन्तरक्रिया साहित्य शृंखला साहित्य सन्ध्याको ३६५ औँ अङ्क, जसमा कवि आचार्यले आजै बिहान घरमा लेखेर सोही कार्यक्रममा वाचन गर्न भनी ल्याउनु भएको कविता वाचन गर्दागर्दै बेहोस भएर ढल्नु भएकोमा तत्कालै निधन भएको न जिकैको मोडल अस्पताल पुर्याएपछि त्यहाँका चिकित्सकहरुले घोषणा गरेका थिए ।
उहाँले आजै बिहान लेख्नु भएको जानकारी सहित कविता वाचन गर्दै आफू १७र१८ वर्ष छँदाका समयको आज एकदमै सम्झना आइरहेको बताउनु भएको थियो ।कार्यक्रम कवि रमेश पोखरेलले सञ्चालन गर्दै हुनुहुन्थ्यो ।
उहाँले आफ्नो १७ र१८ वर्षको उमेरको समय सम्झना गर्नु भएको कविता यस्तो थियो :
खेल्दै जङ्गलमा कुनै चुलबुले मुस्कानले शोभित
कर्के दृष्टि र पोटिलो बदनले पार्थिन् निकै मोहित
तिन्कै दर्शन प्राप्ति निम्ति जनको हुन्थे कथा दौडको
सम्झेँ आज झलक्क त्यै तिन अहा त्यो सत्र अठ्ठारको
नाना रम्य विचित्रका कुसुमले लोलाउथे लोचन
गथ्र्यो स्वच्छ हिमालका पवनले यो देहमा स्पन्दन
त्यो बेला घर दाजुभाइ बहिनी सम्पत्ति सम्झन्छ को
झल्को लाग्छ वसन्त अन्धधमिलो त्यो सत्र अठ्ठारको
बल्दो अग्नि जहाँ दियो, रवि जहाँ ताराहरू पिल्पिल
लग्नेझैँ मृग लोचनी नमिलदा हुन्थेँ सधैँ विह्वल
त्यो पाएपछि पूर्ण भो सफल भो अत्यन्त आनन्द भो
बिस्र्यूँ के म वसन्तको सरलता त्यो सत्र अठ्ठारको
सुन्दैमा कमनीय त्यो समयको संवाद व्यंग्यात्मक
गाउँमा वनमा तथा शहरमा घुम्नु अनावश्यक
मै राम्रो गतिशील फुर्फुर सर्धैँ सङ्केत सानन्दको
झल्को लाग्छ मलाई कुन्नि किन हो त्यो सत्र अठ्ठारको
मानौ वाग थियो घना वन तथा झस्को फुलेका फूल
कालो मेघ मडारिँदा त सहसा पाथ्र्यो मनै तुल्बुल
क्वैलीको कुहु नै थियो हृदयको आहो नयाँ रेतको
सम्झेको छु वसन्तको तरलता त्यो सत्र अठ्ठारको
सारा मानवमा वसन्त महिमा सौन्दर्य नै हो तर
छायाको अतिरिक्त मार्ग तरुको शोभा वृथा हुन्न र रु
जस्मा यौवन सम्पदा सहचरी पन्ना थिइन् हारको
सम्झी बस्छु वसन्तको मधुरता त्यो सत्र अठ्ठारको
हल्का वस्त्र रुचाउने फिरफिरे चाहिन्न त्यो स्वीटर
देखिन्थे वन वाटिका कुसुमका फक्राइले सुन्दर
छर्दैथे नव पालुवा पनि जहाँ सन्देश उल्लासको
सम्झिरेछु वसन्तका दिनहरू त्यो सत्र अठ्ठारको
झल्को लाग्छ अतीतका दिन अझै त्यो चैत वैशाखको
भन्थे केवल मै ठुलो जगतमा होलान् मजस्तो त को
चक्नाचुर भयो अनि चुरीफुरी बेलाछ सूर्यास्तको
पैलेझैँ अब त्यो वसन्त कहिले पाइन्न चाहन्न भो ।
कवि आचार्यको कविता उनकै हस्ताक्षरमा
कवि आचार्यको कविता उनकै हस्ताक्षरमा
उनको यो अन्तिम कविता हेर्दा आज १७र१८ वर्ष छँदाको समयको किन धेरै सम्झना आइरहेछ, किन म आफ्नो यौवनकालमा म भन्दा राम्रो कोही छैन भन्ने ठान्थेँ तर अहिले सबै व्यर्थ रहेछ भन्ने निष्कर्ष निकालिरहेछु, र अब त मेरो सूर्यास्त पनि हुने बेला भयो, अब त्यो १७र१८ वर्षको बय पाए पनि चाहिन्न भन्ने अन्तिम पंक्तिसम्म आइपुग्दा भन्नु भएको छ ।
जीवनभर इमानदारीपूर्वक निजामती सेवामा खरिदार रहेर पनि आफन्त ठाउँमा नभएका कारण पदोन्नति नपाएका कवि आचार्यले एक दर्जन भन्दा बढी साहित्यका कृतिहरू लेख्नु भएको छ ।
तत्कालै साहित्य सन्ध्याको कार्यक्रम पनि रोकेर मोडेल अस्पताल पुगेका कवि कवयित्रिहरु अस्पताल प्रांगणमा भावविह्वल मुद्रामा अहिले अरू तयारीका लागि बसिरहेका छन् । कवि आचार्यकी श्रीमती अम्बिका आचार्य २ वर्षदेखि प्यारालाइसिसका कारण ओच्छ्यान पर्नु भएको छ ।
गोरखाको गोरखा नगरपालिका वडा नं। ९ स्थायी घर भएका कविका ३ छोरा रामबाबु, श्यामबाबु र ध्रुवबाबु आचार्य छन् भने ३ छोरीहरू भगवती घिमिरे, सरस्वती अधिकारी र लक्ष्मी देवकोटा रहेको जानकारी उनका जेठा नाति सन्देश आचार्यले दिए ।
अस्पताल प्रांगणमै आफू आफ्ना हजुर बुबाका दर्जनभन्दा बढी पुस्तकमध्ये ‘पच्चिस थुंगा’, ‘रचना मञ्जरी’ र ‘दर्जी सुजेरो’ पुस्तकबाट बढी प्रभावित रहेको बताए । उहाँको जीवनमा कहिल्यै नथाकी आफ्नो काममा दत्तचित्त भएर लाग्ने बानीले आफूले जीवनमा धेरै पाठ सिकेको पनि उनले सम्झना गर्दै झण्डै भक्कानो छोडे ।
कार्यक्रममा सहभागी अन्य कविहरु पनि उहाँको निधनबाट आश्चर्य चकित बनेका थिए ।चिकित्सकहरुले भने फोक्सोमा श्वास लिन सक्ने क्षमता नै नपाइएको बताएका थिए ।
(स्रोत : swagatnepal.com)
शनिवार ६ कात्तिक २०७३ मा प्रकाशित ,
पुन: लोकान्तरमा प्रकाशित बाट सभार