अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व सचिव हरि मानन्धरलाई अनेसासले २ हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको छ ।
विगत तीन वर्षदेखि किड्नीमा समस्या आई डाइलासिस गराइरहेका मानन्धरलाई अनेसासले दाताहरूबाट संकलित रकम सहयोग गरेको हो ।
विभिन्न देश विदेशमा रहनुभएका अनेसासका पदाधिकारी, सदस्यहरू, च्याप्टर अध्यक्ष एवं अन्य पदाधिकारी एवं सदस्यलगायतका साहित्यानुरागीहरूबाट संकलित २००० डलर प्रदान गरिएको हो । अनेसासको स्थापना दिवसको आरम्भ वर्षको अवसरमा अनेसासका केन्द्रीय महासचिव विमला निरौला, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी र अनेसास दर्पणका कार्यकारी सम्पादकको टोलीले मानन्धरको निवासस्थानमा गई हस्तान्तरण गरेको थियो ।
अनेसासका अध्यक्ष गोवर्द्धन पूजा तथा महासचिव विमला निरौला हस्ताक्षरित स्वास्थ्यलाभको कामनाको पत्रसहित सहयोग हस्तान्तरण गरिनुका साथै महासचिव निरौलाद्वारा सहयोगी दाताहरुको नाम पढेर सुनाइएको थियो ।
यसैगरी अनेसासले साहित्यकार स्वास्थ्य उपचारकोष स्थापनार्थ रकम संकलनको कार्य आरम्भ गरेको छ । हाललाई ५ हजार डलरको लक्ष्य राखेर पहिलो चरणको संकलन अभियान सुरु गरिसकिएको अध्यक्ष पूजाले बताएका छन्। ‘ हालसम्म ३३ सय डलरको वचन वद्धता प्राप्त गरिसकिएको र बाँकी बाँकी रकमको लागि कुनै माध्यमबाट संकलन गरिने उनले बताए । ‘ अनेसासका अध्यक्षको प्रत्यक्ष निगरानीमा रहने उक्त कोषका सदस्यमा नेपाल च्याप्टर अध्यक्ष र नेपालबाट एकजना वरिष्ठ साहित्यकार छनोट गरि समिति बनाइने छ । उनले भने , यो एउटा आरम्भ बिन्दू हुनेछ, यसबाट विशेषतः नेपालमा रहेका सामान्य आर्थिक अवस्था भएका साहित्यकारलाई सहयोग पुग्ने छ ।