समाचारदाता
बोस्टन, अमेरिका
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार मोहन सिटौलालाई “’ अनेसास डायस्पोरा साहित्यरत्न २०२३ ‘ पुरस्कारबाट अनेसासले पुरस्कृत गरेको छ । अनेसास डिसी मेट्रो च्याप्टरको संस्थापक अध्यक्ष र केन्द्रीय अध्यक्षसमेत रहेका सिटौलाको साहित्यिक योगदान र संस्थागत नेतृत्वको सम्मानस्वरूप पुरस्कार प्रदान गरिएको हो ।
नेपाली भाषा, साहित्य र संस्कृति जगेर्नाका लागि न्यूयोर्कमा स्थापित तारा-किशन फाउण्डेशनको प्रायोजनमा प्रदान गरिने उक्त पुरस्कारको रकम ५०१ डलर रहेको छ।
अमेरिका स्थित बोस्टनमा १०~१२ मार्चमा अन्तराष्ट्रिय च्याप्टर सम्मेलन तथा महिला सम्मेलनको अवसरमा साहित्यकार सिटौलालाई पुरस्कृत गरेको हो ।
अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतवार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।