-युवराज मैनाली
साहित्यकार बाजुराम पौडेल नाटक बाहेक सबै विधामा कलम चलाउँछन् । कविता लेखनबाट साहित्यिक यात्राको थालनी गरेका बाजुरामको लेखन यात्राले आधा शताब्दी पार गरिसकेको छ । ‘सिर्जना फस्टाउनु पर्छ’ खण्डकाव्य २०५१ को प्रकाशनले उनलाई कृतिकारको रुपमा उभ्याएको हो । यसपछि फुटकर लेखन, अध्ययन र साधनामा निरन्तर लागिरहेका उनी २०६५ मा ‘बाजुरामका कविताहरु’, २०६६ मा ‘सुरभी श्रष्टा परिचय’, २०६८ मा ‘शीत स्वर्णा’ कविता संग्रह, २०६९ मा ‘भञ्ज्याङ र चौतारी’ आत्मवृत्तान्त, २०७३ मा ‘शान्ताश्री’ महाकाव्य, २०७३ मा ‘जियालो’ संयुक्त महाकाव्य, २०७५ मा ‘उनी उर्मिला’ महाकाव्य, २०७६ मा ‘निशा’ उपन्यास, २०७७ मा ‘छोडिएका पाइलाहरु’ निबन्ध संग्रह, २०७८ मा ‘अर्को संसार’ उपन्यास जस्ता विविध विधाका एक दर्जन कृतिहरु नेपाली साहित्यमा प्रदान गरिसकेका छन् ।
यसका अतिरिक्त कवितालाई मात्र साहित्यिक संघ—संस्थाले प्राथमिकता दिएको र आख्यान साहित्यमा वाचनको अभाव खट्किरहेको सन्दर्भमा सुरभि साहित्य प्रतिष्ठान मार्फत प्रत्येक महिनाको तेस्रो शनिबार कथा वाचन गराएर उनले उदाहरणीय कार्य प्रस्तुत गरेका छन् । यसै संस्थाबाट प्रकाशित सुलेख साहित्यिक मासिकमा गद्य साहित्य मात्र प्रकाशन गरेर नयाँ पुराना गद्य लेखकहरुलाई साहित्यिक मञ्च प्रदान गर्नुका साथै सुरभि साहित्य प्रतिष्ठान मार्फत पुरस्कारको स्थापना र व्यवस्थापन गरी आख्यान सहित्यको उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । सुरभि साहित्य प्रतिष्ठान आख्यान वाचन गराउने नेपालकै पहिलो साहित्यिक संस्था हो भने सुलेख मासिक पत्रिका आख्यानमात्र प्रकाशन गर्ने पहिलो साहित्यिक पत्रिका हो । यसरी बाजुरामले लेखक, सम्पादक, प्रकाशक, संस्था संस्थापक जस्ता विभिन्न व्यक्तित्वमा आफूलाई उभ्याएका छन् ।
बाजुरामले साहित्यका सबै बिधामा कलम चलाए पनि उनी मूलतः कवि हुन् । गद्य लेखनमा पनि उनको सक्रियता र निरन्तरता भने रहेकै छ । आत्मसंस्मरण, श्रष्टा परिचय, निबन्ध र उपन्यासले उनलाई गद्य साहित्यमा दह«ो रुपमा परिचित गराएका छन् । एक दर्जन कृति प्रकाशन गरिसके पछि बाजुराम तेह«ौ कृतिको रुपमा २०७९ मा ‘लुसाको फेरो’ उपन्यास लिएर पाठक सामु उपस्थित भएका छन् । यसअघि ‘निशा’ र ‘अर्को संसार’ उपन्यास पाठक सामु आइसकेका छन् । यिनका बेग्लै विशेषता र आश्वादनले पाठकहरुबीच लोकप्रियता आर्जन गरिसकेका छन् ।
‘लुुसाको फेरो’ उपन्यासको चर्चा गर्नुभन्दा पहिले उपन्यासका सन्दर्भमा जानु आवश्यक देखिन्छ । उपन्यासका श्रष्टा र विद्धान समालोचकहरुले विभिन्न किसिमले उपन्यासको परिभाषा गरेका छन् । यी सबै अध्ययन गर्दा सारांशमा जीवनका विविध पक्षलाई विस्तृत रुपमा प्रस्तुत गरिएको आख्यानात्मक भाषिक संरचना उपन्यास हो भन्न सकिन्छ । अर्को शब्दमा भन्दा घटना र कथाको शिलशिलेवार प्रस्तुती नै उपन्यास हो ।
विषयवस्तु, प्रवृत्ति र आयाम आदिका आधारमा उपन्यासको वर्गीकरण गरिन्छ । कथावस्तु, घटना, परिवेश, पात्र उपयुक्त रुपमा लिंदै सुन्दर शिल्पका साथ उपन्यासकार उपन्यासमा प्रस्तुत हुँदा उपन्यास प्रभावकारी बन्न पुग्ने हुँदा उपन्यासकारले अत्यन्त सजग भएर सिर्जना गर्नुपर्ने आवश्यकता रहँन्छ । ‘लुसाको फेरो’ सामाजिक उपन्यास हो र यसले उठाएको विषय सामाजिक नै हो । गर्भमा रहँदै बाबु गुमाएकी र जन्मेको तीन दिनमै आमा गुमाएकी नारीको मार्मिक र दुखद् कथावस्तुबाट उपन्यास अघि बढ्छ । यस उपन्यासकी प्रमुख पात्र लुसा हो । जन्मेदेखि नियतिको श्रृंखलाबद्ध प्रहारले उनको जीवन थिलथिलो हुन्छ । लुसाको फेरो जस्तै मुसल प्रहार र समीको धारको ठक्करले च्यातिए र काटिए जस्तै लुसाको जीवन हुन्छ । हुरीले उडाएको पात जस्तै भनौं वा नदीले बगाएको काठ जस्तै अनेक प्रहारले लुसा मर्माहित भइरहन्छिन् ।
आमा गुमाएकी लुसा काकाका घरमा रहेकी अवस्थामा भर्खरै छोरो गुमाएकी सेती पुलामीले आफ्नो दुध खुवाउन माग्छिन् । हुर्किएपछि फर्काउने शर्तमा सेती पुलामीलाई न्वारान सकिएपछि जिम्मा लगाइन्छ । सेती पुलामीको स्याहार सुसारले लुसा देख्दैमा रहरलाग्दि बन्छिन् । दिनहरु बित्दै जान्छन् । सेती पुलामीसित बालुवामा लुटपुटिंदै माटोमा खेल्दै लुसा बामेसर्ने हुन्छिन् । सेतीको लोग्ने खड्कले अर्की स्वास्नी लिएर शहर पसेपछि सेती पुलामी एक्ली हुन्छिन् । उनलाई दिन बिताउन कठिन हुन्छ । ट्रक ड्राइभरले उनलाई फकाउँछ । मावल जाने वहानामा लुसालाई उनी कर्ण घलेको जिम्मा लगाउँछिन् ।
काका ठुलाबाका छोराछोरीको साथ पढ्दै लुसा १२ कक्षा उत्तिर्ण हुन्छिन् । १२ कक्षा उत्तिर्ण भएपछि सम्पन्न परिवारको विनयसित उनी प्रणय सूत्रमा बाँधिन्छिन् । एउटा छोराको जन्म हुन्छ । मेधावी छोरा किरण पढाइमा अब्बल हुन्छ । पढाइ पुरा भएपछि योग्य कन्याको खोजी हुँदै गर्दा छोरामा डिप्रेशन भइसकेको थाहा हुन्छ । पढाइमा अब्बल भएर पनि भनेजस्तो काम नपाउँनु उसको डिप्रेशनको कारण बन्छ । एकदिन बारीको काँल्लामा उसले आत्महत्या गर्दै आफ्नो जीवन लिला समाप्त पार्छ । लुसा दम्पत्तिलाई असैह्य बज्रपात पर्छ । तै पनि मन बुझाउनु बाहेक अर्को विकल्प रहँदैन । लुसा रुँदै दिनहरु ब्यतित गर्दै थिइन् । छोरा किरण बितेको ९ महिना पछि पति विनय अचानक विरामी पर्छन् ।
नेपालका सबै अस्पतालका नाम चलेका डाक्टरहरु देखाउँदा पनि उनको रोग पत्ता लाग्दैन । विदेशमा लगेर उपचार गर्दा रोग पत्ता त लाग्छ तर समय ढिलो भइसकेको हुन्छ । डाक्टरका सारा प्रयत्नहरु विफल हुन्छन् । उनको पतिलाई निर्दयी नियतिले निर्ममता पूर्वक निमोठ्छ । उनी फेरि झन सहारा विहिन बन्छिन् । घरको श्रीसम्पत्ती उपचारका क्रममै सकिसकेकोले तरकारी बेच्न थाल्छिन् । उनी जोरपाटीमा तरकारी बेचेर गुजारा चलाउँदै गर्दा नाङ्लेभारेकी ठुलीआमा (घर्तिनी आमा) सिकिस्त भएको सुनेर मुख हेर्न जाँदा बीच बाटोमा एक्कासी बस बिग्रन्छ । साँझ पर्न लागिसकेको र निर्जन जंगलको बाटो भएकोले साथीको खोजीमा दौडिन्छिन् ।
दौडदा दौडदा जोरपाटीमै पसल गरेर बस्ने जोगबहादुर देखापर्छन् र सहयोगको लागि अनुरोध गर्छिन् । जोगबहादुरले उनलाई घर्तिनी आमाकाँहा पु¥याउँछन् । लुसाको स्याहार सुसारले दशदान वैतर्णी समेत गरी मृत्युको नजिक पुगिसकेकी घर्तिनी आमाको जीवन फर्कन्छ । नाङ्लेभारेको बसाइ क्रममा लुसाको आत्मियता र सवैसित घुलमिल हुने स्वभावले सबैसँग नजिकिन्छिन् । त्यहाँका महिलाहरुको अवस्थालाई सुधार्न सचेतनाका कार्यक्रमहरु गर्दै प्रौढशिक्षा, स्वास्थ्य, विरामीहुँदा सवैलाई सहयोग गर्ने र आफूलाई लागेका कुरा निर्धक्कसँग भन्न सक्ने कार्यक्रमहरु सञ्चालन गर्छिन् । साथीहरुसित वनपाखा चहार्दै दिनहरु वित्दै जान्छन् ।
लुसाको हाइहाइ हुन्छ । तर केही महिलाले जोगबहादुरसँग उनको नराम्रो कुरा काट्छन् । घर्तीनी आमा तङ्ग्रीएर छ महिना पछि उनी फेरी शहर फर्किएर आफ्नो पुरानै काम सम्हाल्छिन् । पुनःनाङ्लेभारेमा उनको अभाव खट्िकन्छ । उनी जोरपाटीबाट काँडाघारी र त्यसपछि पाटन ढोकातिर सर्छिन् । जोगबहादुरकी पत्नी जानुकाको निधन भएको खबर आउँछ । घर्तीनी आमाको प्रयास र उनका साथीहरुको सहयोगमा नाङ्लेभारेको सेतीदेवी मन्दीरमा घटस्थापनाको दिनमा जोगबहादुर र लुसा वैवाहिक सूत्रमा बाँधिन्छन् । विवाह गर्दैगर्दा माला र सिक्री लिएर एक जना अपरिचित महिला आएर नाटकीय रुपमा आफू सेती पुलामी भएको कुरा बताउँछिन् । यसरी उपन्यास नाटकीय रुपमा टुंगिन्छ ।
उपन्यासमा एउटी एकल महिलाको मर्म र दुखहरुको यथार्थ चित्रण छ । लुसा जन्मने बेलालाई सुत्केरी मसला र खाद्यवस्तु किन्न जाँदा जर्खेखोलाले उनको बाबुलाई बगाउँछ । जन्मेको तीन दिनमा आमाको पनि मृत्यु हुन्छ । हुर्काउँने सेती पुलामीले समेत छोडेर जान्छिन्् । छोरा र पतिसम्म अघिलाग्नु घरमा छोरा नाति भएर पनि घर्तिनी आमा एक्लै रहँनु, जोगबहादुरकी पत्नी बित्नु, यी सवै उपन्यासका यथार्थ र मार्मिक पक्ष हुन् । यस उपन्यासले प्रौढ अवस्था तथा उत्तरार्ध जीवनमा पनि प्रेम आवश्यक हुन्छ भन्ने स्पष्ट देखाएको छ । उपन्यास भोटेचौर, जोरपाटी, काँडाघारी, पाटन, साँखु, जर्सिङ पौवा, लप्सेफेदी र नाङ्लेभारे वरिपरि घुम्छ ।
यस उपन्यासमा नियतिले मात्र लुसालाई लखेट्छ, श्रृंखलाबद्ध रुपमा लखेटिनै रहन्छ, मर्माहत बनाउँछ । यहाँका अरु पात्रहरु सहयोगी भूमिकामा रहन्छन् । यो नै उपन्यासको उल्लेख्य पक्ष हो । यथार्थ र मार्मिकता उपन्यासको अर्को विशेषता हो । अन्तरर्जातीय विवाह र विधवा विवाह उपन्यासका आदर्श हुन् । यस्तै आदर्श बाजुरामका सबै साहित्यिक कृतिहरुले सुधारात्मक सन्देश प्रवाह गरिरहेका हुन्छन् । ‘सिर्जना फस्टाउनु पर्छ’ मा अर्कासँग गइसकेकी स्वास्नीलाई समाज र इज्जतको पर्वाह नगरी बच्चाका लागि आफ्नो घर भित्र्याइन्छ । ‘शान्ताश्री’ महाकाव्यमा पति हराएर विछिप्त भएर पनि आफ्ना लालाबाला हुर्काएर योग्य बनाएको नारीको कथा छ ।
‘उनी उर्मिला’ र ‘जूनकीरी’ जस्ता महाकाव्यमा पनि सुधारवादी सोच राम्ररी प्रकट भएको छ । ‘निशा’मा सामाजिक रुपान्तरणको आवाज छ । ‘अर्को संसार’ बेजोड कल्पनामा आएको सुन्दर उपन्यास हो । यो नेपाली उपन्यासमै नयाँ प्रयोग थियो भने बाजुरामका कृतिहरु मध्ये सवैभन्दा दह«ो छ । यसमा नेपालको वर्तमान अवस्था र व्यवस्थाका विकृत पक्षमाथि चर्को आवाज उठाउँदै देशभक्ति र सामाजिक रुपान्तरणको पक्षमा आवाज बुलन्द बनाइएको छ । यस्तै ‘लुसाको फेरो’ जतिसुकै दुख भोग्नु परेपनि, कष्ट झेल्नु परेपनि मनको वह कसैलाई नकह भन्दै दुखमा जिउने नारी पात्रको कथा हो । लुसा ढिकीमा घान लाउँन एउटा काठमा बाँधिएको लुगा हो ।
यसले मुसल, समी दुवैबाट ठक्कर खाएर पनि घान लगाउने काम गरिनै रहेको हुन्छ । त्यो नै लुसाको जीवन हो र लुसाको फेरो लुसाको जीवनको विम्व हो । उपन्यासमा लुसाको सम्पूर्ण फेरो दुखको भोगाइ हो । उपन्यासमा शीर्षक चयन सार्थक र स्वभाविक छ । प्रस्तुति सरल छ । बाजुरामका सबै साहित्यमा सरल प्रस्तुति रहन्छ नै । उनका अरु कृति जस्तै पाठकले सजिलैसित भाव ग्रहण गर्न सक्छन् । कुनै कृत्रिमता रहँदैन । आफ्नो दुख अरुलाई बताएर आफ्नो जस्तो अरुलाई दुख नहोस भन्ने उपन्यासको भाव छ । प्रकृति चित्रणमा बाजुराम आफ्ना पूर्व प्रकाशित कृति जस्तै यहाँ पनि सवल छन् ।
लैनसिंह वाङ्लेदलाई उनी प्रकृति चित्रणमा आदर्श मान्दछन् भने साहित्य सन्देशमा रमेश विकलकै पथमा हिंडछन् । उपन्यासमा द्वन्द्वको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । यहाँ द्वन्द्व देखिएको छैन । यहाँ आदर्शको आग्रह छ । यसका लागि सबै पात्रहरु आदर्श छन् । खराब पात्रहरु पनि भित्र्याएर उसलाई दण्डित गराउँन सक्दा उपान्यास अझ अरु सवल बन्न सक्थ्यो । श्रष्टाले कृति प्रकाशन गर्दा आफ्ना प्रकाशित कृतिहरु भन्दा पनि अझ सशक्त र नयाँ पन दिनुपर्ने हुन्छ । यो उपन्यास उद्देश्य पक्षमा सवल रहेर पनि ‘अर्को संसार’को उचाइलाई स्पर्ष गर्न सक्दैन । यसमा पुरानो लैगिंक चेत छ ।
महिला सशक्तीकरण भइसकेको वर्तमान राजधानी वरपरको सामाजिक परिवेशमा यस किसिमबाट महिलाहरु पछि परेको सन्दर्भ त्यति स्वभाविक मानिंदैन । तरपनि अरु दृष्टिकोणबाट भन्दा भूमिका लेखक समालोचक गोपी मैनालीले भनेजस्तै उपन्यासमा समकालीन चेतना देखिन्छ र वरिष्ठ साहित्यकार विजय चालिसेले भनेजस्तै उपन्यासले एउटा गम्भीर र लेखकीय दायित्व वोध गराएको भने छँदैछ ।