युवराज मैनाली ।
“मलाई धोका दियौ।तिमीप्रति जुन अगाध आस्था र विश्वास गरेर बसें अब ती सबै हटे। मेरो एकोहोरो समर्पणप्रति तिमीले घात गर्यौ।दुई दुईवटा यी ताँमाका मुनाजस्ता बच्चाको भविष्यमाथि तिमीले घात गर्यौ,अपराध गर्यौ,खेलबाड् गर्यौ।”आस्था एकाएक चर्का आवाजमा उचालिइन्।
“होइन,किन तिमी आवेश उचालिएकी?म त केही पनि बुझ्न सकिरहेको छैन,कहाँबाट तिमीलाई यो भूत सवार भयो?रिसाउनाका कारण के ? मैले बिगारचाहिँ के गरें ? त्योचाहिँ भनन”नम्रतापूर्वक नृपेशले आग्रह गर्यो।
“म तिमीसित एक,दुई,तीन बस्दिन,बस्दै बस्दिन। ममाथि तिम्रो यत्रो षड्यन्त्र,यत्रो घात,यतिबिघ्न अपराध ?”आस्थामा आवेगको मात्रा अझ चुलिदै गयो-असैह्य किसिमले।
” म विदेश गएर छ महिना बस्दैमा तिमीसँग गाँसिएका नाताका सबै पुल भत्किने ? यी हेर यी सामान कहाँबाट आए ? ककसलाई ल्यायौ ?” आस्थाले डस्ना उचालेर देखाउनासाथ नृपेश छाँगाबाट खसेजस्तो भयो। ऊ केही बोल्न सकेन । अक्क न बक्क भएको नृपशमाथि आस्थाले आफ्ना सङ्काका अौचित्य प्रमाणित भएको पाइन् र नृपेशमाथि आँखा तर्दै भनिन्”अब त सकियो तिम्रो बोल्ने ठाउँ,बोली पनि त बन्द भयो,उठ, हिँड अदालत।”
निकै सम्झाउने प्रयास नृपेशले नगरेको होइन तर नारी हठ उठ् न बस् भएपछि ऊ पनि आवेशमा नै आएर जुरुक्क उठ्यो। आस्थाका माग अनुसार नै अदालतको कागजमा सहीछाप लगायो।
अलग भए।आस्थाका आवेगले खोजेजस्तै खुराक पायो। लामो समयसम्म नृपेशले अर्को विवाह नगरेपछि आस्थाले गहिरो गरी बुझ्ने प्रयास गरिन् र सफल पनि भइन्। आस्था र नृपेशको पारिवारिक माहोल लोभलाग्दो देखेर डाहले छट्पटाएको नृपेशकै साथीको यो खेल रहेछ भन्ने थाहा पाएपछि आस्थाका दुवै हात गालाबाट झर्न मानेनन्,आँसु आँखाबाट रोकिन चाहेनन्,मुखबाट निरन्तर यस्ता शब्द निस्किरहे-“थुक्क आस्था तँलाई धिक्कार छ,तेरो बुध्दि,तेरो आवेश,तेरो…आक्रोश।तेरो एउटै एकोहोरो माग…डिभोर्स…डिभोर्स…डिभोर्स!!…??