काठमाडौं । साहित्यकार गोविन्द गिरी प्रेरणाको यात्रा संस्मरणकृति सार्वजनिक भएको छ । काठमाडौंमा साहित्यिक पत्रकार संघद्वारा आयोजित एक कार्यक्रममा गिरीको यात्रा संस्मरणकृति 'टुप्लुक्क टोकियो' सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको कृतिका बारेमा बोल्दै नियात्राकार प्रतीक ढकालले गोविन्द गिरी प्रेरणाले एक पछि अर्को उत्कृष्ट कृति लेख्न सफल भएको बताए । उनले प्रेरणाको लामो लेखन सक्रियता लोभलाग्दो भएको बताउँदै प्रेरणाले साहित्यका हरेक विधामा उत्कृष्ट सिर्जना गर्न सफल भएको दावी गरे ।
यस्तै संघका अध्यक्ष एवं कार्यक्रमका सभापति राधेश्याम लेकालीले नेपाली साहित्यका लागि गोविन्द गिरी प्रेरणा उदाहरणीय लेखक भएको बताए । उनले प्रेरणाको लेख शैलीको चर्चा गरेका थिए ।
कार्यक्रमलाई स्वागत गर्दै साहित्यकार डा. दामोदर पुडासैनीले स्रष्टा प्रेरणाले नेपाली साहित्यलाई एकपछि अर्को महत्वपूर्ण कृति दिएको बताए । उनले सरल भाषामा लेखिएको 'टुप्लुक्क टोकियो' सबैलाई पढ्न आग्रह समेत गरे ।
कार्यक्रममा बोल्दै स्रष्टा प्रेरणाले लेखन आफ्ना लागि नशाजस्तै भएको बताए । लेखन र अध्ययन बिना आफू बाँच्नै नसक्ने उनको जिकिर थियो ।
यस्तै कार्यक्रममा ठाकुर वेलवासेले प्रेरणा अक्षरका 'डोजर' भएको बताउँदै युवा पुस्ताका लागि गिरी 'प्रेरणा'को स्रोत भएको बताए ।
कार्यक्रममा उपस्थित साहित्यकारहरु प्रतीक ढकाल , राधेश्याम लेकाली, किशोर पहाडी, श्रीओम श्रेष्ठ, डा. दामोदर पुडासैनी, वसन्त श्रेष्ठ, प्वन आलोक, जय छाङ्छा, जयदेव भट्टराई ,भीष्म उप्रेती, प्रधुम्न जोशी, ठाकुर बेलवासे, पुष्करजंग थापा, सूर्य विसी र रञ्जना निरौला, पारु तिमिल्सिना, सरिता खनाललगायत स्रष्टाले संयुक्तरुपमा उक्त कृति सार्वजनिक गरेका थिए । कार्यक्रममा राजेश खनाल, अश्वीनी कोइराला,
बिएन पुस्तक संसारले प्रकाशन गरेको पुस्तकको मूल्य २५० तोकिएको छ ।
कार्यक्रममा अमेरिका निवासी वरिष्ठ कवि वसन्त श्रेष्ठ र जापान निवासी पुष्करजंग थापालाई खादा ओढाएर सम्मान गरिएको थियो ।