काठमाडौं ।
शंकर लामिछाने प्रतिष्ठानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा निबन्धकार श्रीओम श्रेष्ठ रोदनको नयाँ कृति अभिवन्द्यबारे चर्चा परिचर्चा भयो । उक्त कृतिमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिनुहुने ४१ व्यक्तिहरूबारे लेखिएका आलेखहरू छन् । कार्यक्रममा उक्त कृतिमा चित्रित विशिष्ट व्यक्तिहरू तेजेश्वरबाबु ग्वङ, तुलसी दिवस, मन्जुल, मदनदास श्रेष्ठ, हरिप्रसाद पोखरेल, अशेष मल्ल, चिन्तामणि योगी, निर्मोही व्यास आदिको पनि उपस्थिति थियो ।
कार्यक्रममा वरिष्ठ निबन्धकार तेजेश्वरबाबु ग्वङले श्रीओमको कृतिबारे चर्चा गर्दै उनले नेपाली निबन्धका क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएको धारणा राख्नुभयो ।
वरिष्ठ कवि तुलसी दिवसले कवि लेखकले परम्परागत भाषाशैली भत्काउनुपर्ने र आफ्नो छुट्टै पहिचान बनाउनुपर्नेमा जोड दिनुभयो ।
अभिवन्द्य कार्यक्रममा समालाेचक ज्ञानु अधिकारी र कवि माेमिलाले कृतिकाे समीक्षा गरेका हुन् । समीक्षकद्वय मोमिला जोशी र ज्ञानु अधिकारीले अभिवन्द्य कृति नेपाली निबन्धसाहित्यको महत्त्वपूर्ण कृति भएको बताउँदै प्रशंसा गर्नुभएको थियो ।
समालाेचक अधिकारीले अभिवन्द्य कृति विशिष्ट व्यक्तिहरूप्रतिकाे अभिनन्दन भएकाे र कृतिमा जीवन बाेध गराउने निवन्धहरू सङ्ग्रहित रहेकाे बताउनु भयो ।
कार्यक्रममा कवि तथा समिक्षक माेमिला जाेशीले साधकहरूलाई गर्नुपर्ने सम्मान अविवन्द्य कृतिले गरेकाे बताउनु भयो । लेख्नेबेला हरेक लेखक बुद्व बन्ने भन्दै अविवन्द्य कृति पढेर आनान्दकाे महशुष गर्न सकिने बताउनु भयो । उनले कृतिभित्रका शीर्षक पढेरै ४१ सर्जकबारे सरल तरिकाले चिन्न सकिने कलात्मक कलाले राेदनका निबन्ध भरिएकाे बताउनु भयो ।
अध्यक्षको आसनबाट शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले श्रीओम श्रेष्ठ रोदन साहित्यका विभिन्न क्षेत्रमा स्थापित नाम भएको बताउनुभयो । सो अवसरमा मन्जुल, अशेष मल्ल, मदनदास श्रेष्ठ, चिन्तामणि योगी, हरिप्रसाद पोखरेल, डा. लक्ष्मणप्रसाद गौतम, यादव भट्टराई आदि स्रष्टा, कलाकार, समाजसेवीले पनि बोल्नुभएको थियो ।
अभिवन्द्य निबन्ध कृति यस अघि नै ग्वंग सिरपा भक्तपुरबाट पुरस्कृत कृति हाे ।