साहित्यकार मीरा गोतामेको उपन्यास ‘निती’माथि समीक्षा गरेको छ। शनिबार अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजित कार्यक्रममा सो कृतिमाथि समीक्षा गरिएको हो।
साहित्यिक पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा विभिन्न साहित्यकार तथा पत्रकारहरुले कृतिमाथि समीक्षा गरेका थिए। उपन्यासकार गोतामेको पहिलो कृति 'निती' नारी विषयवस्तु माथि लेखिएको छ।
कृतिमाथि समीक्षा गर्दै साहित्यकार दामोदर पुडासैनी किशोरले उपन्यास लेखन गहन विषय भएको र पहिलो प्रयासमै साहित्यकार गोतामेले महत्वपूर्ण काम गरेको बताए । मानिसको जीवनमा साना घटनाक्रमले पनि ठूलो प्रभाव पार्ने विषय उपन्यासमा प्रवेश भएको भन्दै समाज रुपान्तरणमा यसले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गरे। उनले निती उपन्यास अंग्रेजी साहित्यकार ओहेनरीको कृति पढे जस्तो लाग्ने विचार व्यक्त गरे। उपन्यासलाई अंग्रेजीमा अनुवाद गर्नु पर्ने बताउँदै पुडासैनीले प्रस्तुत भएको भाषा सरल र सहज रहेको बताए।
यस्तै साहित्यकार मणि लोहनीले उपन्यास नितीमा आधुनिक समाजको झल्को भेटिने बताए। यसमा आम पुरुषको स्वभाव भेटिने र मानिसले खोज्ने प्रेम तथा अपूर्णता यसमा देखिएको बताए । उपन्यासमा हरेक घटनाले अब के हुन्छ भन्ने कौतुहता उत्पन्न गराउने हुँदा पठनिय रहेको उनको भनाइ थियो । उपन्यासमा नारीले समाजमा सधैं हार्छन् भन्ने विषय रहेकाले यो यर्थाथपरक जस्तो लाग्ने लोहनीले बताए ।
कृतिमाथिको परिचर्चामा डा.शान्तिमाया गिरीले उपन्यासकार गोतामेलाई समाजलाई सुक्ष्म अध्ययन गर्ने साहित्यकारको उपनाम दिँदै पुस्तकले हरेक पाठकलाई उत्सुकता जगाउने बताइन्। हरेक घटनाक्रमले प्रश्न उब्जाउने र जवाफ पनि सँगै भेटिने उनको भनाइ थियो । समाजमा महिला र पुरुषबीच अझै विभेद रहेको र नारीको हक, हित र विद्रोहको प्रतिक बनेर उपन्यास निती उभिएको बताइन्।
नियात्राकार युवराज नयाँघरेले नितीको उपस्थिति नेपाली साहित्यमा दर्विलो भएको तर्क राखे। उनले नारी समाजको कथानकता यसमा समावेश भएको र उपन्यासमा नेपाली समाजको अन्तरद्वन्द्व भेटिने बताए। पात्रहरू धेरै छन्, विषयवस्तुको उठान ठूलो छ, विद्रोह सानो छ भन्दै यसमा लेखकले ध्यान दिनु पर्ने उनले सुझाव दिए।
समीक्षा गर्दै उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले कृतिले समाज रुपान्तरणमा उल्लेख्य भूमिका खेलेको बताए । यस्तै अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतले नेपाली साहित्यको उपन्यास विधामा महिलाहरुको उपस्थिति महत्वपूर्ण रहेको र यसमा मीरा गोतामे र उपन्यास नितीले अर्को ईंटा थपेको बताइन्।
कार्यक्रममा लेखक स्वयंले आफूले देखेका, भोगेका विषयवस्तुलाई निकै चुनौती मोलेर निती लेखिएको बताउँदै यसले आगामी दिनमा थप जिम्मेवारीबोध भएको उल्लेख गरिन् । आगामी कृतिहरुमा पहिलो कृतिका कमजोरी हटाउँदै अघि बढ्ने उनको भनाइ थियो।
उपन्यास निती माथि समालोचक प्रमोद प्रधानले नेपाली साहित्यमा नारी समस्यामा केन्द्रित उपन्यासहरू धेरै अघिदेखि लेखिदै आएको बताउँदै निती त्यही परम्पराको निरन्तरता भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, "नेपाली नारीहरूले भोगिरहेका विभिन्न समस्याहरूलाई दृष्टिगत गरेर लेखिएको यस उपन्यासमा लेखकका विचार, अवधारणा र तर्कहरू पनि मिहिन रूपमा आएका छन् ।"
यसैगरी गुन्जनकी निवर्तमान अध्यक्ष एवं साहित्यिक पत्रकार हिरण्यकुमारी पाठकले लेखकको पहिलो लेखन नै उपन्यास रहेकोमा खुसी व्यक्त गर्दै अब नेपाली साहित्यमा महिला लेखकहरुको बाक्लो उपस्थिति रहेको भनाई थियो ।
कार्यक्रम धन्यवाद ज्ञापन गर्दै साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ सापसबारे चर्चा गर्दै निकट भविष्य मै नेपाल भारत साहित्य महोत्सवको आयोजना गरिने जानकारी गराएका थिए। कार्यक्रम मुरारी सिग्देल आदिले समीक्षा गरेका थिए।
कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा दायित्व प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, नेपाल प्रेस काउन्सिलकाल सदस्य पत्रकार ठाकुर वेलबासे, अन्कित खड्का, उपन्यासकार राधा पौडेल, साहित्यकार कल्पना खरेल, नेपाल भारत साहित्य महोत्सवकी सदस्य कवि पारु तिमिल्सिना, उपन्यासकार क्रान्ति पराजुली, पत्रकार इलु शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको कार्यसमिति सदस्य डी. आर. राई, आख्यानकार एवं पत्रकार अश्विनी कोइला, पत्रकार एवं लेखक ज्ञानमणी नेपाल कालोटोपी, प्रा. डा. सुनिल अधिकारी, पत्रकारहरु सुजन तिमिल्सिना, सङिता सारथि, सर्जकहरु रजनी खड्का, बबिता ढुङेल, सरिता दाहाल, अप्सरा गोतामे, युगीन बोगटीलगायतको उपस्थिति रहेको थियो।