आउनुस एउटा बम फोडौं (कविता)

Everest Fuji News २०७८ जेठ १६ मा प्रकाशित       Published at 2021 May 30



(कविता )

आउनुस महाशय आज तपाईं र हामी मिलेर एउटा कविता बम फोडौं,

एउटा कविता बम फोडौं सरकारलाई तर्साउन,

कविता बम फोडौं आसे पासे र झोलेहरूलाई तर्साउन, 

कति उनीहरूले मात्र तर्साएको सहेर बस्ने 

सहनशिलता हराईसक्यो यिनीहरूको मनोमानी देखेर,

खिचातानी देखेर,

नाटक देखेर,

अट्हास देखेर,

घमण्ड देखेर,

अनि 

अनि जनतालाई पॅगु बनाएको देखेर 

हेर्दा हेर्दा, हजुरबाका कान पाकिसक्यो रे

यिनीहरूका झुटा आश्वासन सुनेर,

बाको घॅाटी नै सुक्यो रे यिनीहरूको चर्तिकला देखेर,

हजुरआमालाई भाउन्न भयो र अस्पताल लैजान पर्यो रे 

अनि काकीलाई महिनै नपुगि ब्यथा लाग्यो र एम्बुलेन्स बोलाउन पर्यो रे ।

तर,तर हजुर्बाको कानको जाली फुट्या औषधी गर्ने अस्पताल छैन 

नत त बाको घॅाटी दुखेको अपरेसन गर्ने

नै ! 

न काकीलाई हस्पिटल पुर्याउॅन एम्बुलेन्स छ 

नत हजुरआमालाई देखाउन डाक्टर नै छन् यहॅा । 

न गाडी चलेको छ,

जाममा परेर दुई घण्टा देखि रोकिएको रे, सबै सबारी साधनहरू

एम्बुलेन्स पनि आउॅन दिंदैनन् रे 

किन भनि बुझि हेर्दा राष्ट्रप्रमुख र प्रधान मन्त्रीको सवारी रे !

खै कुन्नि के को हो उद्घाटन गर्न जान लाग्या रे !! 

के को हो बिर्सें मैले त ! 

सार्बजनिक शौचालयको हो कि ? 

रक्सि भट्टीको पो भन्या हो क्यारे !! 

ए होइन होइन धरहराको हो क्यारे ! 

उॅन......सार्बजनिक सभाहलको पो हो कि ?

जान्दिनॅ म त ! 

तर, तर हजुरबाले सरकारी अस्पताल जान्न डाक्टरले .... खोई कुन्नि के....के हो निकाल्छ पो भन्नुहुन्छ !

अनि प्राइभेट अस्पताल लान पैसा छैन भन्नुहुन्छ दाइ ।

हजुआमा पनि म पनि नर्सिन्गहोम जाने भन्नुहुन्छ ! 

काकी पनि प्रसुति गृह त ज्यान जाला जादिनॅ !!

मेरो साथीहरूको अगाडि लाज हुन्न पो भन्नुहुन्छ बा ! 

हजुरआमाले तर्साउनुहुन्छ, मेरो छोरा बुहारी र नातिले हेंला गरे भनेर पत्रकार सम्मेलन गरिदिन्छु भन्नुहुन्छ ! 

के गर्ने होला भनेर सोच्दै थिएं !

राष्ट्रपति र प्रधान मन्त्रीलाई बिन्तिपत्र हालौं कि ....भन्ठान्दै थिएं !

एउटा राम्रो प्राइभेट सरह सेवा र सुबिधा भएको सरकारी अस्पताल खोलिदिनु पर्यो “माई लर्ड”भनेर 

यतिकैमा जाम खुलेछ, 

मेरो अगाडिबाट

एउटा कालो, चिल्लो ३ करोड पर्ने गाडी गुटुटुट्ट गएछ...।।

को हो ? मैले त चिन्नै सकिनॅ ! कालो कालो चस्मा लाएका, मुखमा मास्क लाएका थिए....

पुलिसले हे “के हेरिराको बाटो खुल्यो जानुस” “यहॅा भिड गर्ने हैन” भनि लट्ठीले हान्दा पो झल्यॅास् भएछु !! 

म घरको कान्छो छोरा सबै जिम्मेवारी मेरै

के गरौं माई लर्ड ???.......

 प्रस्तुति: गृष्मा  पौड्याल ( केन्द्रिय अनेसास  ट्रस्टी सदस्य)

हाल: टोकियो , जापान



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.