लाहुर !!

Everest Fuji News २०७५ आश्विन ३० मा प्रकाशित       Published at 2018 Oct 16


कामना त नगर्नु पर्ने हो यसरी- भाई कान्छोले देउराली बाट उडाइ रहेको चंगा चटक्क चुंडिए हुन्थ्यो र बिलाए हुन्थ्यो आकासमै !

सोंच्न त नहुने हो यसरी- बैनी प्यारीले नजानी नजानी पकाएको बाँगो टिंगो सेल हराए हुन्थ्यो एका एक सोली बाट !

प्रिय संगिनीले सुत्केरी खान भनी पेवा राखेको खसी पनि फुकेर भागे हुन्थ्यो टाट्ना बाटै !

बाबा राजैले दशैं घरमा राखेको जमरा नउम्रिए हुन्थ्यो त्यो कुनोमा गायब भए हुन्थ्यो टपरी नै !

रुन्चे आमैले दिन भर खोजिरहँदा पनि पटक्कै नभेटिए हुन्थ्यो मलखाद माथिको घोर्ले काँक्रो !

यो परदेशमा उखरमाउलो हावा चल्छ घर उडाउँछ सहर उडाउछ मन उडाउँछ ! पैसा उडाएर देश पुर्याउने त्यही हावाले उडाई ल्याए हुन्थ्यो नि त्याहाँ हराएका ती सबथोक लाहुरमा पनि !

बैनी, मोबाइल किनेको छु महंगो हालेर मैले, तेरो कोप्चे अनुहार उडाएर ल्याए हुन्थ्यो हावाले !

भाई, मैले क्या गज्जबको क्यामेरा किनेको छु तेरो धतंगो रहर उडाएर ल्याए हुन्थ्यो त्यही हावाले !

संगिनी, गहना किनेको छु अचम्मका ! सजिन लगाउने होइन, परिश्रम गर्दा लगाउने ! ती लाएर सृष्टि अघि बढाउँदा देश अघि बढ्छ भनेर लेखिएको किताब पनि किनेको छु एउटा ! कोख उडाएर ल्याए हुन्थ्यो हावाले तिम्रो म, दशैं संगै रोप्ने थिएँ एउटा नौलो चलन !

आमा, यो शरीर बाट निस्किने तिम्रो गन्धको पानी बेचेर केही भाँडा कुँडा किनेको छु ! अगेनो ‘फू फू’ गर्दा बढेको दम छ तिमीलाई भनी बिजुलीले पानी तताइदिने थर्मस अनि तिम्रो स्वादको घिरिम्ला पकाउँछ कि भनी स्नेहको कराही ! सके तिम्रो हात ल्याइदिए हुन्थ्यो नसके तिम्रो आंशु ल्याए हुन्थ्यो हावाले ! समुद्रको पानीले त आमा, न भोक मेट्दो रैछ, न प्यास !

अनि बाबा, मैले सपना बेचेर पैसा किनेको छु तपाईको सिस्नु र लट्ठी ल्याए हुन्थ्यो हावाले सक्छ भने बरु ! मैले माटो बिर्सिएँ भने मैले बाटो बिर्सिएँ भने झ्याम्म हिर्काउँथे कि दुबैले !

धेरै केही होइन यत्ति भइदिए हुन्थ्यो ! नवमीको रात यस्तो निद्रा परोस् रात भर ठूलो हुरी चलोस् दशमीको बिहान आँखा खुल्दा हावाले मेरो संसार उडाएर ल्याएको होस यहाँ,लाहूरमा ! एकादशीको दिन अखवारमा लेखियोस्- ‘लाहूरेले लाहुरमा अहिले सम्मकै उत्कृष्ठ दशैं मनायो !’

✍️हेमन्त गिरी,टोकियो



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.