काठमाडौँ/
हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा रोपी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा रोपिने गरिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा समेत गरिने प्रचलन रहेको छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिले समेत जनाएको छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मास समेत भनेर चिनिने गरेको छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्दछन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंकोे बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवम् विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने गरिन्छ । चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि समेत रहेको छ ।।