विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरुले दिउँसै टर्च बालेर काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सडक आन्दोलन गरेको सात दिन बितिसक्दा समेत सरकारको ध्यान नगएको भन्दै उनीहरुले दिउँसै टर्च बालेर काठमाडौंमा प्रदर्शन गरेको बताएका छन् । काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले हिजोदेखि शैक्षिक हडताल समेतको घोषणा गरेका छन् । विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी भएका छन् । मंगलबार माइतिघरदेखि बानेश्वरसम्म टर्च बालेर प्रदर्शन गर्दै उनीहरुले यसअघि आफुहरुसंग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् । लामो समयदेखि सरकारले शिक्षकहरुको माग पुरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरुको भनाई रहेको छ ।
महासंघले आफुहरुको माग सरकारले नसुने थप कडा संघर्षको कार्यक्रम आयोजना गर्ने चेतावनी दिएको छ । प्रदर्शनकारीहरुले पुराना ऐन खारेज गर, नयाँ ऐन जारी गर, लगाएतका नारा लगाएका थिए ।।