अनलाइनबाटै कम्पनी खारेजीको प्रक्रिया अघि बढाइँदै

Everest Fuji News २०८१ फाल्गुन २० मा प्रकाशित       Published at 2025 Mar 04


काठमाडौं । अब कम्पनी दर्ता, सञ्चालन तथा खारेजीका सम्पूर्ण प्रक्रिया भौतिक रूपमा उपस्थित नभई अनलाइनबाटै गर्न सकिने भएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले ‘कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली (सीएएमआइएस)’ को पूर्ण कार्यान्वयन गर्दै डिजिटल प्रविधिमार्फत सेवा प्रदान गर्ने व्यवस्था लागू गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयका उपरिजस्ट्रार देवीप्रसाद सुवेदीका अनुसार फागुन १९ गतेदेखि लागू गरिएको नयाँ प्रणालीले कम्पनी सम्बन्धी सम्पूर्ण प्रशासनिक कार्यलाई सहज, सरल र पारदर्शी बनाउनेछ।

नयाँ प्रणालीमार्फत कम्पनी दर्ता, नाम स्वीकृति, निवेदन समीक्षा, स्वीकृतिपत्र प्राप्ति लगायत सम्पूर्ण प्रक्रिया अनलाइनबाटै गर्न सकिनेछ। प्राप्त आवेदनहरू स्वचालित रूपमा सम्बन्धित अधिकारीलाई तोकिनेछ, जसले गर्दा प्रक्रियामा झन्झट हट्नेछ। अब कम्पनी प्रशासनसँग सम्बन्धित पत्राचार, स्वीकृति विवरण लगायतका कागजातहरू डिजिटल हस्ताक्षर गरी सम्बन्धित कम्पनीको अनलाइन अकाउन्टमा पठाइनेछ। यसले कम्पनी प्रशासनलाई थप सहज, छरितो र प्रभावकारी बनाउनेछ।

नयाँ प्रणालीलाई राष्ट्रिय परिचयपत्र प्रणाली, आन्तरिक राजस्व कार्यालयको कर प्रणाली, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको लेखा प्रणाली जस्ता अन्य सरकारी प्रणालीहरूसँग समन्वय गरिएकाले कम्पनी सञ्चालनसम्बन्धी कानुनी आवश्यकताहरू सहज रूपमा पूरा गर्न सकिनेछ। सरकारले हालैको अध्यादेशमार्फत कम्पनी खारेज गर्ने प्रक्रिया सरल बनाएको छ। साथै, विवरण नबुझाएको कारण लाग्ने जरिवानामा ९० प्रतिशत छुटको व्यवस्था गर्दै कम्पनी बन्द प्रक्रिया सहज बनाएको छ।

नयाँ डिजिटल प्रणाली लागू भएसँगै अब कम्पनी दर्तादेखि खारेजीसम्मका सम्पूर्ण प्रक्रियाहरू द्रुत र पारदर्शी हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.